महोत्तरी/असार ६ गते। नेपाल पत्रकार महासंघ मधेश प्रदेशको पाँचौँ साधारणसभा शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न भएको छ । साधारणसभामा सहभागी वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा, व्यवसायिक पत्रकारिता तथा मधेश प्रदेशको समग्र विकासका चुनौतीबारे धारणा राख्दै लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन स्वतन्त्र, निष्पक्ष र जिम्मेवार सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्यामप्रसाद बञ्जाराको अध्यक्षतामा सम्पन्न साधारणसभाको उद्घाटन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महतोले पत्रकारिता क्षेत्र लोकतन्त्रको आधारस्तम्भ भएकाले पत्रकारहरू स्वतन्त्र, निष्पक्ष र निर्भीक रूपमा काम गर्न सक्ने वातावरण सुनिश्चित हुनुपर्ने बताए ।
पत्रकारले सुरक्षाको अनुभूति गर्न नसके अभिव्यक्ति स्वतन्त्रता कमजोर हुने र त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक प्रणालीमा पर्ने उनको भनाइ थियो ।
‘पत्रकार स्वतन्त्र हुनुपर्छ, पत्रकारले सुरक्षाको अनुभूति गर्नुपर्छ । जब पत्रकार सुरक्षित र स्वतन्त्र हुन्छन्, तब मात्र लोकतन्त्रको वास्तविक अभ्यास सम्भव हुन्छ,’ मन्त्री महतोले भने ।
उनले सञ्चार क्षेत्रलाई थप सुदृढ बनाउन प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै पत्रकारका पेशागत समस्या समाधान तथा सञ्चार क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । सञ्चार क्षेत्रको विकासमा प्रदेश सरकार र पत्रकार समुदायबीच सहकार्य अपरिहार्य रहेको उनको धारणा थियो ।
कार्यक्रममा श्रम तथा यातायात मन्त्री शारदा देवी थापाले समाजमा समानता, न्याय र सुशासन स्थापना गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताइन् । पत्रकारिताले जनताका आवाजलाई नीति निर्माण तहसम्म पु¥याउने भएकाले पत्रकारको क्षमता अभिवृद्धि र पेशागत संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।
मन्त्री थापाले सीमित स्रोतसाधनका बाबजुद प्रदेश सरकारले जनअपेक्षाअनुसार काम गर्ने प्रयास गरिरहेको बताउँदै विकास निर्माण, रोजगार, यातायात व्यवस्थापन तथा सामाजिक क्षेत्रका समस्याहरू समाधान गर्न सरकार निरन्तर सक्रिय रहेको जानकारी दिइन् ।
‘मधेश प्रदेशमा चुनौती धेरै छन्, समस्या पनि थुप्रै छन् । स्रोतको अभावका बीच जनताको आवश्यकता पूरा गर्नुपर्ने अवस्था छ । बजेट सीमित भए पनि सरकार आफ्नो जिम्मेवारीबाट पछि हट्ने छैन,’ उनले भनिन् ।
साधारणसभामा विभिन्न वक्ताहरूले प्रेस स्वतन्त्रता, पत्रकारको पेशागत सुरक्षा, श्रम अधिकार, सञ्चार क्षेत्रको संस्थागत विकास तथा सञ्चारमैत्री नीति निर्माणको आवश्यकतामा जोड दिएका थिए । उनीहरूले पत्रकारिता क्षेत्रलाई थप मर्यादित, व्यवसायिक र उत्तरदायी बनाउन राज्य, सञ्चार संस्था तथा पत्रकार स्वयंको भूमिका उत्तिकै महत्वपूर्ण रहने धारणा व्यक्त गरे ।
महासंघका अध्यक्ष बञ्जाराले अनेक चुनौतीका बीच पत्रकारिता क्षेत्रले आफ्नो दायित्व निर्वाह गरिरहेको उल्लेख गर्दै पत्रकारहरूको हकहित, पेशागत सुरक्षा र क्षमता विकासका लागि महासंघ निरन्तर क्रियाशील रहेको बताए । उनले बदलिँदो सञ्चार परिवेशमा तथ्यमा आधारित, जिम्मेवार र जनपक्षीय पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
साथै पत्रकारको सुरक्षा, सामाजिक सुरक्षा, श्रम अधिकार तथा पेशागत सम्मान सुनिश्चित गर्न सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको जानकारी उनले दिए ।
साधारणसभामा मधेश प्रदेशका विभिन्न जिल्लाबाट आएका पत्रकार, सञ्चारकर्मी, महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा पत्रकारिता क्षेत्रका समसामयिक चुनौती, संगठनको भावी कार्यदिशा तथा सञ्चार क्षेत्रको विकासका विषयमा समेत विस्तृत छलफल गरिएको महासंघकी महिला उपाध्यक्ष ज्योति झाले जानकारी दिइन् ।





















Discussion about this post