धनुषा/जेठ २८ गते। वर्षायामको सुरुवातसँगै जनकपुरधाम उपमहानगरपालिका–३ मा जलनिकास तथा सडक व्यवस्थापनको समस्या गम्भीर बनेपछि स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गर्दै विरोध प्रदर्शन गरेका छन्।
बिहीबार बिहान करिब एक घण्टा परेको वर्षापछि वडाका अधिकांश सडक जलमग्न बनेका थिए। सडकमा पानी जम्नुका साथै घर, पसल र आँगनसम्म पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको थियो। त्यसको विरोधस्वरूप आक्रोशित स्थानीयवासी वडा कार्यालयअगाडि भेला भई टायर बालेर प्रदर्शनमा उत्रिएका हुन्।
स्थानीय युवा प्रेम साह, कृष्णा साह, सुनिल दास, लक्ष्मण साह, सन्दीप साह र राहुल कर्णलगायतले वर्षौंदेखि सडक तथा नाला व्यवस्थापनमा सुधार नआएको भन्दै जनप्रतिनिधिप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले सामान्य वर्षामै डुबानको समस्या देखिएको उल्लेख गर्दै आगामी साउन–भदौमा अवस्था अझ जटिल हुन सक्ने चेतावनी दिए।
प्रदर्शनकारीहरूले वडाभित्र नियमित सरसफाइ प्रभावकारी रूपमा हुन नसकेको, फोहोर व्यवस्थापन कमजोर रहेको तथा ऐतिहासिक देवान पोखरी संरक्षणमा समेत बेवास्ता गरिएको आरोप लगाए। उनीहरूका अनुसार धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण जानकी मन्दिर नजिकको क्षेत्रमै यस्ता समस्या कायम रहनु जनकपुरधामको छविका लागि समेत चुनौती बनेको छ।
यता, वडाध्यक्ष दिपेन्द्र साहले स्थानीयको गुनासो जायज रहेको स्वीकार गर्दै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको बताए। उनले बजेट अभाव, प्राविधिक प्रक्रिया र प्रशासनिक जटिलताका कारण केही विकास योजना समयमै सम्पन्न हुन नसकेको स्पष्ट पारे।
उनका अनुसार जलनिकास सुधारका केही योजना कार्यान्वयनको चरणमा रहेका छन् भने मुख्य नाला निर्माण र सडक स्तरोन्नतिलाई आगामी बजेटमा प्राथमिकताका साथ समेटिनेछ। स्थानीयले उठाएका विषयप्रति वडा कार्यालय गम्भीर रहेको र सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने प्रयास भइरहेको उनले बताए।
तर स्थानीयवासीले भने विगतमा पटक–पटक आश्वासन मात्रै पाएको भन्दै अब व्यवहारिक रूपमा कामको परिणाम देखिनुपर्ने माग गरेका छन्। समस्या समाधानमा ढिलाइ भए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत उनीहरूले दिएका छन्।





















Discussion about this post