धनुषा/जेठ २४ गते । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता महेन्द्र यादवले मधेस प्रदेशमा मदिरा र गुटखाको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउन प्रदेश सरकारसँग माग गरेका छन् ।
नेपाल–भारत मैत्री युवा संघ धनुषाले सञ्चालन गरेको लागूऔषधविरुद्धको जनचेतनामूलक अभियानलाई सम्बोधन गर्दै यादवले मदिरा र गुटखाबाट प्राप्त हुने राजस्वभन्दा त्यसका कारण समाज र स्वास्थ्य क्षेत्रमा पुग्ने क्षति धेरै रहेको बताए । उनले प्रदेश सरकारले यस विषयमा गम्भीरतापूर्वक सोचेर प्रतिबन्धतर्फ पहल गर्नुपर्ने धारणा राखे ।
नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्षसमेत रहेका यादवले मदिरा तथा गुटखाको सेवनबाट उत्पन्न हुने स्वास्थ्य समस्याको उपचारमा राज्य र नागरिकले ठूलो आर्थिक भार व्यहोर्नुपरेको उल्लेख गरे । उनले यस्ता वस्तुबाट हुने आम्दानीभन्दा स्वास्थ्य उपचारमा हुने खर्च बढी रहेको दाबी गरे ।
यादवले युवा तथा विद्यार्थीलाई कुलत र लागूऔषधको दुष्चक्रबाट जोगाउने उद्देश्यले मधेस प्रदेशभर जनचेतनामूलक अभियान सञ्चालन गरिएको जानकारी दिए । देशको भविष्य युवा पुस्ताको काँधमा रहेको उल्लेख गर्दै उनले युवाको भविष्य सुरक्षित र उज्ज्वल भए मात्र राष्ट्रको भविष्य पनि सबल बन्ने बताए ।
समाज र राष्ट्रलाई सही दिशामा अघि बढाउन युवा तथा विद्यार्थीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले लागूऔषधविरुद्धको अभियानमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
नेपाल–भारत मैत्री युवा संघ धनुषाका अध्यक्ष बजरंग यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शंकर चौधरी, प्रदेशसभा सदस्य कुमरकान्त झा, सुरक्षा निकायका प्रतिनिधि, चिकित्सक तथा विभिन्न विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।





















Discussion about this post