गिरिजानन्द साह/धनुषा/जेठ २४ गते। धनुषा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सामाजिक विकृति–विसंगति न्यूनीकरणमा प्रहरी र सञ्चारकर्मीबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकारहरूसँग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काले जिल्लाको वर्तमान शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, लागूऔषध दुर्व्यसन न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रहरीका प्राथमिकता र भावी योजनाबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै एसपी खड्काले समाजमा बढ्दो अपराध तथा सामाजिक विकृतिहरू नियन्त्रण गर्न प्रहरी र सञ्चार क्षेत्रबीचको सहकार्य अत्यन्त आवश्यक रहेको बताए। उनले तथ्यपरक सूचना सम्प्रेषण, जनचेतना अभिवृद्धि तथा अपराध नियन्त्रणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने उल्लेख गर्दै आवश्यक सहयोग र समन्वयका लागि आग्रह गरे।
उनले सुरक्षा चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि प्रहरी, सञ्चारकर्मी तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। साथै, समाजमा शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषाका प्रतिनिधि, विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा जनचेतनामूलक अभियानमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका थिए।
अन्तरक्रियाका क्रममा सहभागीहरूबीच आपसी परिचय, अनुभव आदानप्रदान तथा समसामयिक सुरक्षा चुनौतीबारे समेत छलफल भएको थियो। कार्यक्रममा प्रहरी र सञ्चार क्षेत्रबीचको सम्बन्ध थप सुदृढ हुँदै जिल्लाको शान्ति सुरक्षामा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।





















Discussion about this post