धनुषा/जेठ १२ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सरकारी नम्बर प्लेटका सवारी साधनको अनधिकृत प्रयोग नियन्त्रण गर्न निगरानी कडा बनाएको छ । प्रशासनले ट्राफिक प्रहरीलाई बिदाको दिन तथा कार्यालय समयबाहिर सञ्चालनमा देखिने सरकारी गाडीमाथि विशेष निगरानी राख्न निर्देशन दिएको हो ।
सरकारी सवारी साधन निजी काममा प्रयोग भइरहेको भन्ने गुनासो बढ्न थालेपछि प्रशासनले यस्तो कदम चालेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेलका अनुसार कार्यालयको आधिकारिक प्रयोजनबाहेक सरकारी गाडी चलाउने प्रवृत्ति रोक्न अभियान सुरु गरिएको हो ।
निर्देशनअनुसार अब अनुमति बिना सञ्चालनमा रहेका सरकारी नम्बर प्लेटका सवारी साधन जहाँ भेटिए पनि नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिनेछ । छानबिनपछि नियम उल्लंघन गरेको पाइए कानुनी प्रक्रिया अघि बढाइने प्रशासनले स्पष्ट पारेको छ ।
ट्राफिक प्रहरीलाई यस्ता सवारीको गतिविधिमाथि नियमित अनुगमन गर्न भनिएको छ भने सरकारी सम्पत्तिको दुरुपयोग नगर्न सम्बन्धित कार्यालय र चालकहरूलाई पनि सचेत गराइएको छ । प्रशासनले नियमविपरीत सरकारी गाडी प्रयोग गरे कारबाही हुने चेतावनीसमेत दिएको छ ।















Discussion about this post