धनुषा/जेठ १२ गते । जेठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा श्रद्धा र भक्तिपूर्वक मनाइएको छ । गंगा पृथ्वीमा अवतरण भएको दिनको सम्झनामा यो पर्व मनाउने परम्परा रहिआएको छ ।
धार्मिक मान्यताअनुसार राजा भगीरथले कठोर तपस्या र प्रयासपछि यही दिन भागीरथी गंगालाई पृथ्वीमा ल्याएका थिए । धर्मग्रन्थ तथा पुराणहरूमा गंगा दशहराको दिन स्नान, तर्पण र पूजा–आराधना गरे दश प्रकारका पाप नष्ट हुने विश्वास उल्लेख गरिएको छ ।
यस अवसरमा श्रद्धालुहरूले पवित्र नदी, तलाउ तथा तीर्थस्थलमा स्नान गरी भगवान् शिवलाई जलाभिषेक गर्ने चलन रहेको छ । गंगा स्नान तथा पूजा–अर्चनाबाट पुण्य प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ । यता जनकपुरधाम स्थित दशरथ तलाउमा पनि गंगा दशहरा पर्वको अवसरमा धार्मिक मेला लागेको थियो । गंगा दशहराका दिन दशरथ तलाउमा स्नान तथा ध्यान गर्नाले विशेष फल प्राप्त हुने जनविश्वासका कारण श्रद्धालुहरूको भीड लागेको थियो ।
मिथिला क्षेत्रमा यस दिन तलाउमा स्नान गरेपछि आँप, च्युरा र दही खाने परम्परासमेत रहेको छ ।















Discussion about this post