धनुषा/जेठ ९ गते । १९ औं राष्ट्रिय सोतोकान कराँते प्रतियोगिता तथा तेस्रो वडा अध्यक्ष कप–२०८३ आज जनकपुरधाममा भव्य रूपमा सुरु भएको छ । नेपाल सोतोकान कराँते संघ धनुषा, मधेश प्रदेशको सहयोग तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
जनकपुरधाम–१३ स्थित मुजेलिया कभर्डहलमा आयोजित प्रतियोगिताको उद्घाटन प्रतिनिधि सभा सदस्य मनिष झा ले गरेका छन् । उद्घाटन समारोहमा विभिन्न खेलकुदकर्मी, जनप्रतिनिधि, कराँते प्रशिक्षक, खेलाडी तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रतियोगितामा देशका विभिन्न जिल्ला तथा प्रदेशबाट आएका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामार्फत खेलाडीहरूको प्रतिभा प्रस्फुटन, अनुशासन र राष्ट्रिय स्तरमा कराँते खेलको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
कार्यक्रममा वक्ताहरूले खेलकुदले युवालाई सकारात्मक मार्गतर्फ अग्रसर गराउने उल्लेख गर्दै स्थानीय तहले खेल क्षेत्रको विकासका लागि निरन्तर सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतियोगिता केही दिनसम्म सञ्चालन हुने तथा विभिन्न तौल समूह र विधामा प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।




















Discussion about this post