धनुषा/जेठ ७ गते । श्री राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय खेलमैदान मा सञ्चालन भएको सहिद कप अन्तर्गत मधेश प्रदेश स्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा जिल्लाले जितेको छ।
गत वैशाख ३१ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल वर्षाका कारण रद्द भएपछि टसको आधारमा विजेता चयन गरिएको थियो। टसको निर्णयअनुसार पर्सा पहिलो तथा सिरहा दोस्रो भएको हो।
प्रतियोगिता खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेश प्रदेश को आयोजनामा तथा नेपाल क्रिकेट सङ्घ को समन्वयमा सम्पन्न भएको थियो। प्रतियोगितामा मधेश प्रदेशका आठवटै जिल्लाका महिला क्रिकेट टोलीहरूको सहभागिता रहेको थियो।
सहिद कप सञ्चालन अन्तर्गत मधेश प्रदेश स्तरीय महिला क्रिकेट प्रतियोगिताका संयोजक दिपेन्द्र कुमार गोइत ले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएका छन्।
समापन कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेश प्रमुख डाक्टर सुरेन्द्र लाभ कर्ण ले विजेता टोलीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो।
प्रतियोगिताले प्रदेशमा महिला क्रिकेटको विकास, खेलाडीहरूको मनोबल वृद्धि तथा खेलप्रति आकर्षण बढाउन सकारात्मक योगदान पुर्याएको आयोजकले जनाएको छ।



















Discussion about this post