गिरिजानन्द साह/धनुषा/जेठ ४ गते। लायन्स क्लब अफ जनकपुरधाम को ४९औँ र लायन्स क्लब अफ जनकपुरधाम गार्गी को चौथो साधारण सभा जनकपुरधाममा सम्पन्न भएको छ।

सम्पन्न साधारण सभाको अध्यक्षता लायन्स क्लब अफ जनकपुरधामका अध्यक्ष डा. राजेश कुमार साहले गरेका थिए। सभाले वर्ष २०२६/२७ का लागि दुवै क्लबको नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
साधारण सभाबाट लायन्स क्लब अफ जनकपुरधामको अध्यक्षमा प्रसुन्न झा निर्वाचित भएका छन्। त्यसैगरी फर्स्ट भाइस प्रेसिडेन्टमा रामकिशोर साह, सेकेन्ड भाइस प्रेसिडेन्टमा डा. अनिल अग्रवाल, सेक्रेट्रीमा लक्ष्मीनारायण शाह तथा ट्रेजररमा राम जीवन शाह निर्वाचित भएका छन्।
त्यस्तै, लायन्स क्लब अफ जनकपुरधाम गार्गीको वर्ष २०२६/२७ का लागि अध्यक्षमा सुनिता मिश्रा निर्वाचित भएकी छन्। फर्स्ट भाइस प्रेसिडेन्टमा सरिता कुमारी शाह, सेकेन्ड भाइस प्रेसिडेन्टमा जमुना कुमारी भुजेल, सेक्रेट्रीमा किरणदेवी गुप्ता तथा ट्रेजररमा ममता सिंहानिया निर्वाचित भएका छन्।
नवनिर्वाचित अध्यक्ष प्रसुन्न झाले लायन्स क्लब अफ जनकपुरधामले विगतदेखि गर्दै आएको सामाजिक सेवा र मानवीय कार्यलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबको गौरवपूर्ण इतिहासलाई कायम राख्दै आगामी दिनमा आयोजना गरिने कार्यक्रमहरूलाई सफल बनाउन सबै सदस्य तथा शुभेच्छुकहरूको साथ र सहयोग आवश्यक रहेको बताए।
उनले विशेषगरी आगामी “गोल्डेन जुब्ली” कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न सबैको सक्रिय सहभागिताको अपेक्षा रहेको उल्लेख गरे।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरूले नवनिर्वाचित पदाधिकारीहरूलाई शुभकामना दिँदै सफल कार्यकालको कामना गरेका थिए। वक्ताहरूले लायन्स क्लबले समाजसेवा, स्वास्थ्य, शिक्षा तथा मानवीय क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका थिए।
कार्यक्रमका सभाध्यक्ष तथा निवर्तमान अध्यक्ष डा. राजेशकुमार शाहले नवनिर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै आफ्नो कार्यकालमा साथ, सहयोग र समर्थन गर्ने सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहयोगीप्रति धन्यवाद ज्ञापन गरे।
साधारण सभामा लायन्स क्लब अफ जनकपुरधाम र लायन्स क्लब अफ जनकपुरधाम गार्गीका पदाधिकारी,लियो क्लब अफ जनकपुरधामका पदाधिकारीहरु,लियो क्लब अफ जनकपुरधाम क्यपिटलका पदाधिकारीहरु, पूर्व अध्यक्षहरू, सदस्यहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।




















Discussion about this post