धनुषा/बैशाख १४ गते । सिरहा र धनुषा जोड्ने निर्माणाधीन कमला नदी पुल नजिकैको अस्थायी बाँध बाढीले बगाएपछि केही समयका लागि यातायात पूर्ण रूपमा प्रभावित भएको छ । पुलको डाइभर्सन क्षेत्रभन्दा करिब ३०० मिटर अगाडि रहेको माटोको बाँध भत्किँदा सडक सम्पर्क अवरुद्ध बनेको हो ।
स्थानीयका अनुसार बाँध भत्किएसँगै सयौं सवारीसाधन बीच बाटोमै रोकिएका थिए । पछि स्थानीयको सहयोगमा यात्रु र सवारी सुरक्षित रूपमा पार गराइएको थियो । घटनाले दैनिक आवतजावतमा निर्भर स्थानीय बासिन्दा र यात्रुहरूलाई ठूलो समस्या भएको देखिएको छ ।
सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अविरल वर्षा र बाढीका कारण अस्थायी संरचना क्षतिग्रस्त भएको जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीले तत्काल डोजर प्रयोग गरी माटो थपेर बाँध पुनः सञ्चालनमा ल्याएको छ । तर, यस्तो अस्थायी समाधान दीर्घकालीन रूपमा सुरक्षित नभएकाले स्थायी उपायको खोजी भइरहेको उनले बताए ।
यस विषयमा समाधान निकाल्न जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासहित बैठक बसेको छ । बैठकमा सिरहा क्षेत्र नं. १ का बब्लु गुप्ता, क्षेत्र नं. २ का शिवकुमार यादव र क्षेत्र नं. ३ का डा. शम्भु कुमार यादव सहभागी भएका थिए । निष्कर्षपछि मात्र थप निर्णय सार्वजनिक गरिने जनाइएको छ ।
उल्लेखनीय छ कि करिब १४ वर्षअघि ठेक्का सम्झौता भएको यो पुल अझै सम्पन्न हुन सकेको छैन । हुलाकी राजमार्ग अन्तर्गत पर्ने पुल निर्माणका लागि २०६८ सालमा पप्पु–लुम्बिनी जेभीसँग सम्झौता गरिएको थियो । २०७१ मै सकिनुपर्ने योजना भए पनि हालसम्म सात पटक म्याद थप भइसकेको छ ।
२०७८ सालमा आएको बाढीले पुलका संरचनामा क्षति पु¥याएपछि निर्माण कार्य झनै प्रभावित भएको थियो । अहिले केही भाग हटाएर पुनः निर्माण प्रक्रिया अघि बढाइएको छ । हालसम्म करिब २० करोड रुपैयाँ खर्च भइसकेको र बाँकी काम लुम्बिनी कम्पनीले गरिरहेको जनाइएको छ ।
दीर्घकालीन समाधान नहुँदासम्म प्रत्येक वर्ष बाढीको समयमा यस क्षेत्रका बासिन्दाले समस्या झेल्नुपर्ने अवस्था दोहोरिने देखिएको छ ।














Discussion about this post