जनकपुरधाम/माघ ९ गते। मधेश प्रदेश सभा आठौँ वार्षिकोत्सव तीन दिने कार्यक्रम आयोजना गरी मनाइने भएको छ। वार्षिकोत्सवको तयारी, व्यवस्थापन तथा समन्वयका विषयमा विस्तृत छलफल गर्न बसेको बैठकपछि माघ १९, २० र २१ गते विविध कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो।
मधेश प्रदेशका सभामुख रामअशिष यादवका अनुसार वार्षिकोत्सवलाई समावेशी, मर्यादित र प्रदेश सभाको गरिमालाई प्रतिबिम्बित गर्ने ढंगले सम्पन्न गरिनेछ। विगत वर्षको तुलनामा यस वर्ष कार्यक्रमका लागि बजेट कम भए पनि कार्यक्रमको गुणस्तरमा कुनै कमी नआउने उहाँले स्पष्ट पार्नुभयो। बरु आवश्यकताअनुसार केही नयाँ कार्यक्रमसमेत थप गरिने सभामुख यादवको भनाइ छ।
यस वर्षको वार्षिकोत्सवको विशेष आकर्षणका रूपमा मधेश प्रदेशको आर्थिक समृद्धि विषयक बहस आयोजना गरिने भएको छ। उक्त बहस मधेश प्रदेशका पूर्व नीति तथा योजना आयोगका उपाध्यक्ष तथा प्रख्यात अर्थशास्त्री प्राध्यापक डा. भोगेन्द्र झा व्यथितको अगुवाइमा सञ्चालन हुने जनाइएको छ।
प्रदेशको आर्थिक अवस्था, सम्भावना र दीर्घकालीन समृद्धिका उपायबारे गम्भीर विमर्श गरिने यस कार्यक्रमले नीतिनिर्माणमा समेत सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।





















Discussion about this post