गिरिजानन्द साह/जनकपुरधाम/वैशाख २६ गते। जनकपुरधाम उपमहानगरपालिकाको आयोजना तेस्रो संस्करणको मेयर कप टी–२० क्रिकेट प्रतियोगिता शुक्रबारबाट जनकपुरधाम–१४ स्थित श्री रामजानकी बहुउद्देशीय रंगशाला, बेलही रजौलमा भव्य रूपमा सुरु भएको छ।
समारोहका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, विशिष्ट अतिथि प्रदेश खेलकुद मन्त्री प्रमोद जयसवाल, प्रदेश सांसद सुरिता साह तथा अन्य विभिन्न पालिका र गाउँपालिकाका प्रमुख, जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष पुण्य प्रताप यादव, जिल्ला क्रिकेट संघका सदस्य सरोज मिश्र, प्रशिक्षक नवीन सिंह, संघ-संस्थाका प्रतिनिधि, युवा अभियानी, खेलप्रेमी तथा विभिन्न वडाका अध्यक्षहरूको विशेष उपस्थिति रहेको उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भयो।
उद्घाटन खेलमा महोत्तरीले दमदार प्रदर्शन गर्दै प्रतिद्वन्द्वी धनुषालाई ४४ रनको स्पष्ट अन्तरले पराजित गरेको छ। त्यस्तै आजको दोस्रो खेलमा सर्लाहीले सप्तरीलाई पांच विकेटले पराजित गरेको छ। प्रतियोगितामा मधेश प्रदेशका आठ जिल्लाका प्रतिनिधि टोलीहरूका साथै भारतका चार टोलीहरू गरी जम्मा १२ टोली सहभागी छन्। यस अन्तरप्रादेशिक सहभागिताले प्रतियोगिता थप रोमाञ्चक र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।
क्रिकेटप्रेमीको उल्लेखनीय उपस्थिति, स्थानीय सरकारको सक्रियता र युवा सहभागिताले जनकपुरधामको खेलकुद गतिविधिमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।
Discussion about this post