जनकपुरधाम/गिरिजानन्द साह/चैत ४ गते। जनकपुरधाममा तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिता यही चैत १५ गतेदेखि सुरु हुने भएको छ। यसअघि सम्पन्न पहिलो र दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएपछि जनकपुर स्पोर्ट्स क्लब र न्यु भिजन नेपालको संयुक्त आयोजनामा यो तेस्रो संस्करणको प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा सहभागी हुन चाहने कलेजहरूले चैत १३ गतेभित्र आफ्नो टिम दर्ता गरिसक्नुपर्ने आयोजकले जानकारी गराएका छन्। स्थानीय क्रिकेट खेलाडीहरूलाई आफ्नो क्षमता अभिवृद्धि गर्ने अवसर प्रदान गर्न यो प्रतियोगिता महत्वपूर्ण ठानिएको छ। आयोजकका अनुसार प्रतियोगिता सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारीहरू तीव्र रूपमा अगाडि बढाइएको छ।
यसअघि, आयोजकद्वयले चौथो संस्करणको ईन्टर स्कुल क्रिकेट प्रतियोगिता पनि सफलतापूर्वक सम्पन्न गरिसकेका छन्। उक्त प्रतियोगिताले विद्यार्थीहरूलाई क्रिकेट खेलप्रति आकर्षित गराउनुका साथै स्थानीय स्तरमा क्रिकेट खेलको प्रवर्द्धन गर्न ठूलो भूमिका खेलेको थियो।
तेस्रो ईन्टर कलेज क्रिकेट प्रतियोगिताका खेलहरू जनकपुरधामस्थित खेलमैदानमा सञ्चालन हुनेछन्। प्रतियोगितामा सहभागी टोलीहरूबीच लिग चरणका खेलहरू खेलाइनेछ भने उत्कृष्ट टोलीहरू सेमिफाइनल र फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। आयोजक समितिले विजेता टोलीलाई आकर्षक ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिएको छ। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष पुरस्कारको समेत व्यवस्था गरिने बताइएको छ।
यो प्रतियोगिता विशेषगरी जनकपुरका कलेज तहका विद्यार्थीहरूलाई खेलकुदमा सहभागी गराउन, उनीहरूको खेल प्रतिभालाई निखार्न तथा उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उद्देश्यले आयोजना गरिएको हो। आयोजक समितिले क्रिकेटप्रेमी दर्शकहरूलाई प्रतियोगिता हेर्न उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।
क्रिकेट खेलको विकास र प्रवर्द्धनका लागि यस प्रकारका प्रतियोगिताहरू निरन्तर रूपमा आयोजना गरिनुपर्नेमा खेल समीक्षकहरू सहमत देखिन्छन्। आगामी दिनहरूमा अझ ठूला तथा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूको आयोजना गर्ने योजनामा रहेको आयोजकले बताए ।
Discussion about this post