जनकपुरधाम/गिरिजानन्द साह/चैत १ गते। जनकपुर जेसीजद्वारा आयोजित एक विशेष कार्यक्रममा मिथिलाञ्चलको ऐतिहासिक र धार्मिक महत्व बोकेको अन्तगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि:शुल्क खाद्यान्न सामाग्री वितरण गरिएको छ।
जनकपुर जेसीजका अध्यक्ष मुकेश साहका अनुसार, शुक्रबार बिहान ५ बजेबाट यो वितरण कार्यक्रम सुरु गरिएको थियो। कार्यक्रममा सहभागी तिर्थालुहरुलाई चुरा,मिट्ठा, पानी, फलफूल लगायतका खाद्यान्न सामाग्रीहरु नि:शुल्क रुपमा प्रदान गरिएको हो। साहले धार्मिक यात्रामा सहभागी भक्तजनको सेवा गर्नु समाजको कर्तव्य रहेको उल्लेख गरे।
अन्तगृह परिक्रमा मिथिलाञ्चलको सबैभन्दा ठूलो धार्मिक पदयात्रा हो, जसमा हजारौं तिर्थालुहरु सहभागी हुन्छन्। यो परिक्रमा जनकपुरधामदेखि सुरु भई विभिन्न धार्मिक स्थलहरु परिक्रमा गर्दै पुनः जनकपुरमै सम्पन्न हुन्छ। परम्परागत मान्यताअनुसार, यस परिक्रमामा सहभागी भएर मनकामना गरेमा मनोवाञ्छित फल प्राप्त हुने विश्वास गरिन्छ।
यस पटकको परिक्रमामा पनि नेपालका विभिन्न स्थानहरुका साथै भारतबाट समेत ठूलो संख्यामा तिर्थालुहरुको सहभागिता रहेको थियो। तिर्थालुहरुले परिक्रमाको समयमा धार्मिक स्थलहरुको दर्शन गर्दै, पूजा-आराधना गरेका थिए।
कार्यक्रमको संयोजन जनकपुर जेसीज बर्ष २०२५ का उपाध्यक्ष जेसी सुबोध कुमार ठाकुरले गरेको थियो । यो कार्यक्रमले धार्मिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्याउने विश्वास आयोजकहरुको रहेको छ।
जनकपुरधाममा यस्ता कार्यक्रमहरुले धार्मिक तथा सांस्कृतिक पहिचानलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।
Discussion about this post