गिरिजानन्द साह/जनकपुरधाम/माघ १९ गते। नेपाल – शहीद सत्यनारायण साह स्मृति प्रतिष्ठान नेपालद्वारा जनकपुरधामको कपिलेश्वर खेल मैदानमा आयोजित दश दिवसीय शहीद सत्यनारायण मेमोरियल कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा धनुषाको कपिलेश्वर क्रिकेट टिमले कप्टौल क्रिकेट टिमलाई ७ विकेटले पराजित गर्दै उपाधि जित्न सफल भएको छ।
कपिलेश्वर क्रिकेट टिमले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। कप्टौल क्रिकेट टिमले निर्धारित २० ओभरको खेलमा १८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा, कपिलेश्वर क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गर्दै मात्र १४ ओभरमै ३ विकेटको क्षतिमा १८५ रन बनाउँदै शानदार जीत हात पार्यो।
कपिलेश्वर क्रिकेट टिमका अनिकेत यादव ३७ बलमा अविजित रहँदै ६९ रन बनाएर “म्यान अफ दी म्याच” घोषित भए। कप्टौल क्रिकेट टिमका विनय यादव “वेस्ट बलर” घोषित भए।
प्रतियोगिताको विजेता कपिलेश्वर क्रिकेट टिमलाई ३१ हजार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरियो भने उपविजेता कप्टौल क्रिकेट टिमलाई २१ हजार रुपैयाँ नगद तथा ट्रफी प्रदान गरियो। पुरस्कार वितरण जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साहले गरे।
कार्यक्रममा प्रमुख अतिथि मनोज कुमार साहले कपिलेश्वर खेल मैदान सहित अन्य खेल मैदानहरूको स्तरवृद्धि गर्दै खेलकुदलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। वडाध्यक्ष रामचन्द्र पाजियार,जसपाका युवा नेता अम्बु प्रसाद साह लगायतका वक्ताहरूले खेल, खेलाडी र खेल मैदानको आवश्यकताबारे आ-आफ्नो धारणा व्यक्त गरे। धनुषाका १६ वटा क्रिकेट टिमहरूको सहभागिता रहेको यो प्रतियोगिता क्रिकेट प्रेमीहरूका लागि एक रोचक र रोमाञ्चक बनेको छ।
Discussion about this post