पुस २६ गते। जनकपुर साहित्य महोत्सवको तयारी स्वरूप एकदिने कथावाचन कार्यशाला भएको छ । नव मिथिला फाउण्डेशनद्वारा माघमा आयोजना हुने जनकपुर साहित्य महोत्सव अन्तर्गत शुक्रबार कथावाचन कार्यशाला भएको हो ।
प्रसिद्ध बाल साहित्य विज्ञ राजीव धर जोशीको नेतृत्वमा आयोजित गोष्ठीमा शिक्षकलाई रचनात्मक कथावाचन प्रविधिहरू सिकाइएको छ । उनीहरूले प्रशिक्षण लिएपश्चात् आफ्ना विद्यार्थीहरूलाई कथावाचनका विषयमा प्रशिक्षित गर्नेछन् । यस सिकाइले विद्यार्थीहरूलाई प्रेरित गर्न र कक्षामा सिकाइ सुधार्न मद्दत पुर्याउँछ ।
प्रतिस्पर्धाको माध्यमबाट बालबालिकाहरूको सिर्जनशीलता र प्रतिभा उजागर गर्न यो अवसर प्रदान गरिएको नव मिथिला फाउण्डेशनका अध्यक्ष अमित कुमार साहले बताए । यो कार्यशालामा जनकपुरधामका सामुदायिक तथा निजी विद्यालयका शिक्षकहरू सहभागी भएका छन् ।
विद्यार्थीहरूले भने माघ ६ देखि ८ गतेसम्म जनकपुरधाममा हुने कथावाचन प्रतियोगितामा सहभागिता जनाउने छन् । फाउण्डेशनले गर्न लागेको इन्टर स्कूल प्रतियोगितामा कथावाचनका साथै कवितावाचन, चित्रकला र वक्तृत्वकला विधा पनि समावेश गरिएको अध्यक्ष अमित साहले जानकारी दिनुभएको छ । इन्टर स्कूल प्रतियोगिताबाट विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीहरूले माघ २४ देखि २६ गतेसम्म चल्ने जनकपुर साहित्य महोत्सवको छैठौ संस्करणमा सहभागिता जनाउने छन् ।
जनकपुर साहित्य महोत्सव २०८१ ले साहित्य र संस्कृति प्रेमीहरूलाई एकजुट गर्नका साथै मिथिलाको पहिचान र परम्परालाई जिवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखिएको छ ।
Discussion about this post