पुस २५ गते। त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षक–कर्मचारी निरन्तर आन्दोलनमा छन् । स्थायी तथा आंशिक र करार शिक्षक–कर्मचारीहरूका छुट्टाछुट्टै माग छन् ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले पुस १६ गते उपकुलपति प्राडा केशरजंग बराललाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०८१ वैशाख २६ गते पेस गरेका सामूहिक मागको सुनुवाइ नभएको भन्दै संघले आन्दोलनको चेतावनीसहित ध्यानाकर्षण पत्र बुझाएको थियो ।
विभिन्न १० बुँदे मागसहित बुझाइएको ध्यानाकर्षण पत्रमा शिक्षण सहायक पदमा कार्यरत स्थायी हुन छुटेका शिक्षकहरूका लागि पूर्ववत् प्रक्रिया अवलम्बन गरी विशेष आन्तरिक प्रतियोगिता गर्नुपर्ने संघको माग छ ।
त्यस्तै हाल नियुक्त आंशिक व्यवस्थापनका शिक्षकहरूलाई विश्वविद्यालयको दरबन्दीमा लैजाने व्यवस्था गर्नुपर्ने, हाल उपप्राध्यापक पदमा कार्यरतहरूले लामो समय सेवा गरेकाले एक पटकका लागि सबै उप–प्राध्यापकलाई सह–प्राध्यापकमा बढुवा र हाल कार्यरत सह–प्राध्यापकलाई प्राध्यापकमा बढुवा गर्नुपर्ने माग गरिएको छ ।
संघका कार्यवाहक महासचिव अजय कुमार पौडेलको नामबाट बुझाइएको ध्यानाकर्षण पत्रमा माग पूरा नभए कडा आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनी दिइएको छ । पुस २१ गते आइतबारदेखि आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएको संघले आन्दोलनका कार्यक्रम भने अघि बढाएको छैन ।
Discussion about this post