जनकपुरधाम/असोज २६ गते। दुबै देशको सम्बन्ध थप सुमधुर बनाउने गरी नेपाल भारतको खुल्ला सिमानाको व्यवस्थापन समय सापेक्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् ।

नेपाल भारत खुला सीमा संवाद समूहले बिहीबार जनकपुरधाममा आयोजना गरेको “नेपाल–भारत खुल्ला सीमा” विषयक अन्तर संवादमा कार्यक्रममा दुबै देशका विभिन्न क्षेत्रका व्यक्तिले यसमा जोड दिएका हुन् ।
कार्यक्रममा मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले नेपाल भारतको खुल्ला सीमाको नयाँ परिवेश अनुसार व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

नेपाल भारतको सम्बन्ध परापूर्वकालदेखि रहेको उल्लेख गर्दै मन्त्री सिंहले सीमा क्षेत्र नयाँ परिवेश अनुसार व्यवस्थापन नहुँदा युवाहरु लागू औषधको कुलतमा फस्नुका साथै लागू औषधको कारोबार सहज रुपमा गर्ने गरेको चर्चा गरे । खुल्ला सीमाको कारण दुबै मुलुकका नागरिकलाई सहजता भएको बताउँदै मन्त्री सिहंले सीमावर्ति क्षेत्रमा हुने गलत क्रियाकलाप रोक्न दुबै मुलुकका सरकार गम्भीर हुनुपर्नेमा जोड दिए । मधेश प्रदेशका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुबै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणको लागि दुबै सरकारबाट पहल हुनुपर्ने बताए ।

खुल्ला सीमाले धेरै विषयमा सहजता भए पनि सहज पुर्वक भेटने लागुऔषधको कारण युवाहरू कुलतमा फस्दै गएकोप्रति पनि दुवै देशका सरकार गम्भीर हुनुपर्नेमा अन्य वक्ताले बताए । मधेश प्रदेश सरकारका पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रदेश सांसद रामसरोज यादवले चुरे विनाशको असरबाट दुवै देशका जनता नराम्रोसँग प्रभावित भएकाले यसको संरक्षणमा साँझा प्रयासको आवश्यकतामा जोड दिए ।
नेकपा एमालेका मधेश प्रदेश सांसद दीपेन्द्र ठाकुरले नेपालको सच्चा मित्र भारत भएको बताउँदै सीमामा आउने विवादको शान्तिपूर्ण रुपमा समाधान गर्दै सीमा क्षेत्रका नागरिकलाई असहजता उत्पन्न हुने कुनै पनि गतिविधि हुन नहुने बताए । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले खुल्ला सीमानाको विषयमा वृहत् समीक्षा हुन जरुरी रहेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य डा.विजय कुमार सिंहले नेपाल भारतबीच भएको सुगौलि संधि अनुसार पनि भारतले नेपालसँग व्यवहार गर्न नसकिरहेको बताए । भारत सरकारको वीरगञ्ज स्थित महावाणिज्य दूतावासका महावाणिज्यदूत शैलेन्द्र कुमारले नेपाल भारतबीचको सम्बन्ध अन्य मुलुकको सम्बन्ध भन्दा फरक भएकाले सिमानामा रहेको भारतीय सीमा सुरक्षा बललाई नेपालीसँग सरल व्यवहार गर्न निर्देशन दिइएको बताए ।
नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजीव झाको अध्यक्षतामा भएको कार्यक्रममा तराई मधेश लोकतान्त्रिक पार्टी नेपालका कार्यवाहक अध्यक्ष डा. विजय कुमार सिंह, नेकपा माओवादी धनुषाका इन्चार्ज विजयशंकर नायक सहितका वक्ताहरूले सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले नेपालीलाई दुःख दिन थालेको बताए ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले खुल्ला सीमाका कारणले चोरी पैठारी बढेकोले सीमावर्ती नेपालका बजारमा कारोबार घटेको चर्चा गर्दै सीमाको व्यवस्थापन वैज्ञानिक एवं मित्रवत् हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा दुबै देशका नागरिक सम्मिलित सीमा संवाद समूहका अध्यक्षबाट संयुक्त रुपमा सीमामा देखिएको समस्या समाधानका लागि भारतीय महावाणिज्य दूतलाई लिखित ज्ञापनपत्र बुझाएका थिए ।

















Discussion about this post