जनकपुरधाम/असोज २३ गते। नेकपा एमाले मधेश प्रदेशको प्रथम अधिवेशनको सम्पूर्ण तयरी पूरा भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरधामको महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा दुई दिनसम्म चल्ने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको हो ।
बुधबार र बिहीबार हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको नेकपा एमालेले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । अधिवेशनमा सहभागी हुन अध्यक्ष ओली भोलि बिहानको नियमित उडानमार्फत काठमाडौंबाट जनकपुरधाम आउने छन् ।अधिवेशनको लागि मञ्च तथा पण्डाल लगायत सम्पूर्ण तयारी पूरा भएको एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।
अधिवेशनका लागि ७ हजार नेता कार्यकर्ता अट्ने क्षमताको पण्डाल बनाइएको हो । मधेश प्रदेशको आठवटै जिल्लाबाट अधिवेशनका लागि खुल्ला तथा विभिन्न क्लस्टरबाट १ हजार २७ प्रतिनिधि छनोट गरिएको छ । उनका अनुसार व्यवस्थित रूपमा अधिवेशन सम्पन्न गर्नका लागि १०५ जना स्वयंसेवक परिचालन गरिने छ । प्रतिनिधि तथा नेताहरू बस्न २२ वटा होटल भाडामा लिइएको छ ।
अध्यक्ष पदमा अहिलेसम्म लक्ष्मीनारायण यादव, ताराकान्त चौधरी, रेवती पन्त, राजकिशोर यादव, रामसिंह यादवको नाम चर्चामा छ । सकेसम्म सर्वसम्मत रूपमा नेतृत्व चयन गरिने, सहमतिमा पुग्न नसके निर्वाचनबाट टुंगो लगाउने एमाले मधेश प्रदेश अध्यक्ष रामअवतार यादवले जनाए ।
अधिवेशनमा प्रदेशका ८ जिल्लाका १ हजार २७ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले पदाधिकारीसहित २ सय २५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ । उद्घाटन सत्रमा मधेशको मौलिक संस्कृतिक झल्किने विभिन्न झाँकी प्रस्तुत गर्नुका साथै बन्द सत्रमा राजनीतिक तथा सांगठनिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।अधिवेशनमा सहभागी हुनका लागि ८ वटै जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता जनकपुरधाम आउने क्रम जारी छ ।

















Discussion about this post