जनकपुरधाम/असोज १७ गते। जयनगरबाट भंगहा तर्फ जाँदै गरेको रेल जनकपुरको सीताचोक नजिक रेल्वे ट्रयाकमा एउटा मोटरसाइकल क्रस गर्न खोज्दा रेलको ठक्करबाट मोटरसाइकल किचिएर पूर्णरुपमा क्षति भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
आज साँझ ७ बजेर ३५ मिनेटको समयमा रेल क्रस हुनेबेला बाटो काट्ने दुबैतर्फको ढाट बन्द भए पछि पनि जनकपुरधाम–१ सीता चोक स्थित रेल्वे ट्रयाकमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएका छन् ।
बाटो बन्द भइसके पश्चात पनि जबर्जस्ती बाटो काट्न थालेपछि प्र.–२–०२–००३ प ००९० नम्बरको मोटरसाइकल रेलसंग ठोक्किएको थियो । त्यस क्रममा जनकपुरधाम–१९ बेंगाको पिपराका राम सजिवन यादवका छोरा राकेश यादव घाइते भएका छन् । उनको दाहिने खुट्टा र छातीमा भित्री चोट लागेको छ भने उनको अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
मोटरसाइकल माथि रेल चढेपछि ठूलै दुर्घटना हुन सक्ने अवस्था सिर्जना भए पनि, चालकको कुशलताका कारणले रेल जोगिएको बताइएको छ । रेल्वे आउने समयमा बाटो बन्द गर्दा पनि बाटो काट्नेहरुको लापरबाहीले गर्दा यस्ता समस्या रेल्वेले खेप्न परिरहेको नेपाल रेल्वेले जनाएको छ ।














Discussion about this post