सप्तरी/भदौ ३० गते । शनिबार सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. १ मल्हनियाँ सडकखण्डमा भारतबाट लुकाई छिपाई नेपालतर्फ ल्याइदै गरिएको ठूलो परिमाणको प्रतिबन्धित लागु प्रहरीले बरामद गरेको छ ।
प्रहरी टोलीले दिउँसो १२ चेकजाचको क्रममा यात्रु बोक्ने स.१ह. ३६८६ नम्बरको टेम्पोबाट उक्त लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेशकुमार सिंहले जानकारी दिएका छन् ।
टेम्पोमा लोड गरिएको दुई वटा बोरा भित्र चामलसँगै प्लास्टिकको कालो झोलामा लुकाइराखिएको अवस्थामा प्रहरीले १ हजार १ सय ७५ थानका दरले फेनारगन, डाइजेपाम र ब्रुफेनरापिन एम्पुल र ट्याब्लेट गरि ३ हजार ५ सय २५ वटा प्रतिबन्धित लागु औषध बरामद गरेको उनले बताए ।
प्रतिबन्धित लागु औषध ओसारपोसार गर्ने टेम्पो चालक बलान बिहुल गाउँपालिका ३ निवासी ३० वर्षिय राजेन्द्र राम र उनकै बयानका आधारमा पक्राउ परेका बलान बिहुल गाउँपालिका २ का हरिहर कुमार यादवलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उनले सुरक्षा जाच छल्न चामलको बोरामा प्याक गरेर उक्त लागु औषध लुकाएर तस्करहरुले नयाँ नयाँ शैली अपनाउन थालेको बताए । पक्राउ परेका राम र यादवलाई लागु औषध नियन्त्रण ऐन अनुसार कारवाही प्रक्रिया अघि बढ्ने जानकारी दिदै उनले बरामद लागु औषध, टेम्पु र यादवले प्रयोग गरेका भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीको नियन्त्रणमा रहेको जनाए ।
नेपालमा प्रतिबन्धित रहेका लागु औषध भारतीय बजारमा खुलेआम बिक्रि हुने भएकाले लागु औषध कारोबारी र यसका कुलतमा फसेकाहरु विभिन्न जुक्ति निकाल्दै लुकाई छिपाई नेपाल ल्याउने गरेको पाइएको प्रहरीको भनाई छ ।
Discussion about this post