जनकपुरधाम/भदौ ८ गते। कांग्रेसको सहयोग रहेसम्म वर्तमान सरकारलाई कुनै संकट नहुने नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बताएका छन्।
आज बिहीबार जनकपुरधाम उपमहानगरको नगरस्तरीय विस्तारित बैठकमा सहभागी हुन जनकपुरधाम आएका पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन्। विभिन्न काण्डका कारण वर्तमान सरकारको आयु लामो छैन भन्छन् नि? भन्ने प्रश्नमा उनले कांग्रेसको सहयोग रहेसम्म सरकार यथावत् चल्ने बताएका हुन्।
पत्रकार सम्मेलनमा नेता कोइरालाले भने चिनियाँ र भारतीय संलग्नता रहेको सुन काण्डमा अन्तरराष्ट्रिय प्रभाव निस्तेज गर्न सके मात्र वास्तविक अपराधी पक्राउ पर्ने अन्यथा सबै कुरा नाटक सावित हुने बताए।
सुनकाण्डमा भारतीय र चिनियाँ संलग्नता स्पष्ट रहेकाले कुनै पनि छानबिन आयोगले त्यो कनेक्सनलाई निस्तेज गर्न सकेमात्र उपलब्धि हासिल हुने नेता कोइरालाले जानकारी गराए।
किलो सुनको कुरा नेपालका लागि मात्र ठूलो बुझिने भए पनि भारतमा टनका टन सुनको खपत रहेको र त्यसको परिपूर्तिका लागि नेपालको भूभाग प्रयोग भइरहेको कुरा भुल्न नहुने नेता कोइरालाले बताए।
कोइराला विराटनगरबाट सडकमार्ग हुँदै आउने क्रममा बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्दै जनकपुरधाम आइपुगेका हुन्। कोइरालाले नेपाल सुन तस्करीको ट्रान्जिट प्वाइन्ट बनेको र त्यसमा चीन‚ भारत सहित अनेक शक्तिशाली राष्ट्रहरूको संलग्नता हुन सक्ने भएकाले त्यसको छानबिन गर्ने हैसियत हुन्छ कि हुन्न भन्ने मुख्य विषय हुने बताए।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महर, डा. चन्द्रमोहन यादव, प्रदेशसभा सदस्य रामसरोज यादव, शेषनारायण यादव र पार्टी जिल्ला सभापति योगेन्द्र पजियार लगायत उपस्थित थिए।
Discussion about this post