जनकपुरधाम/भदौ ७ गते । जनकपुरधामका साधु सन्तले गोरु खानेलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
तुलसीदास जयन्तीको अवसरमा जनकपुरधाममा आयोजित तुलसी जयन्ती समारोहमा साधुसन्तले नेपाल अझै पनि संख्याको हिसावले सनातन हिन्दुहरुको देश भएकाले अन्याय सहेर नबस्ने बताए ।
बुधबार तुल्सी जन्मोत्सवमा आयोजित कार्यक्रमपछि एक पत्रकार सम्मेलन आयोजना गरी साधु सन्तहरुले साे माग गरेका हुन् । उनीहरुले गाई–गोरुको हत्या गर्नेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
जानकी मन्दिरका उतराधिकारी महन्थ रामरोशन दास वैष्णवले गाई/गोरु काटेर मासु खानेलाई सरकारले कानुन बमोजिम कडा कारबाही गर्नुपर्नेमा जोड दिए । उनले कारबाही नगरे साधु सन्तहरु चुप नबस्ने भन्दै आन्दोलनको चेतावनी समेत दिए ।
वैष्णवले भने, ’नेपालमा गाईलाई मातासरह पुजिन्छ । हामी साधुसन्तसहित हिन्दु समाजले गाई/गोरुलाई माता मानेर पूजा गर्छौ । गाई गोरु काट्नेहरु अपराधी भएको समेत बताए । ‘नेपालका विभिन्न ठाउँमा हिन्दु धर्म प्रतिको ठाँडो हस्तक्षेप स्वरूप गाईगोरुको हत्या भएको छ, त्यसका अपराधीहरूलाई कानुनी कारबाहीको लागि माग गर्दछु,’ उनले भने ।
तुलसी दासको जन्मजयन्तीको अवसरमा तुलसी स्मारक मन्दिरमा विशेष पुजापाठ, झाँकी, भजन किर्तन भइरहेको छ भने मन्दिरको नयाँ भवनको समेत उद्घाटन गरिएको छ । मन्दिरबाट झाँकी बैण्डपार्टी सहित साधुसन्तहरुले शोभायात्रा निकाल्दै सनातन हिन्दुधर्मको जय र जय सियारामको नारा लगाएका थिए ।
Discussion about this post