महेशकुमार दास/जलेश्वर/भदौं ६ गते । उद्योग वाणिज्य सङ्घ जलेश्वरले बुधबार जलेश्वर बजार बन्द गराएको छ । बजार बन्द भएपछि अवस्था तनाव ग्रस्त बनेको छ ।
मिटरव्याज पीडितहरुले मङ्गलबार दिउँसो निकालेको विरोध जुलुस प्रर्दशन गर्ने क्रममा जलेश्वरका व्यवसायीलाई सडकमै दुर्व्यवहार गरी कुटपिट गरेको भन्दै बुधबार बिहानैदेखि निजी विद्यालय, पसल, बजार बन्द गरेर व्यपारीहरु आन्दोलन उत्रेका छन्
मिटरब्याज पीडितले एक जना स्थानीय व्यवसायीलाई कुटपिट गरेको थियो भने अर्का एक जना व्यवसायीलाई सुरक्षाका लागि भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मिटरब्याज पीडितहरुले सरकारले ल्याएको ऐनमा संशोधनको माग गर्दै मङ्गलबार जलेश्वरमा प्रदर्शन गर्नुुका साथै पाँच बुँदे माग उल्लेखित ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा बुझाएका थिए ।
मिटरब्याज पीडितहरुले प्रदर्शन गरिरहेका बेला आन्दोलनकारीले व्यवसायीलाई कुटपिट गरेको भन्दै व्यापारीहरु प्रतिकार गर्दै सडकमा उत्रेका छन् ।
मिटरब्याज पीडितको नाममा अराजक गतिविधि गर्नेहरुलाई कारवाही नभएसम्म बजार बन्द यथावत राख्ने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लभराजा सिंहले जानकारी दिनुभयो ।
“प्रदर्शन गर्ने बहानामा स्थानीय व्यावासयीलाई दुर्व्यवाहर गर्नु र कुटपिट गर्नु गलत हो ।” सङ्घका अध्यक्ष सिंहले भन्नुभयो “आफ्नो मागका लागि प्रदर्शन गर्ने बहानामा स्थानीय व्यावसायीलाई कुटपिट र दुर्व्यवहार गर्नेलाई कारवाही हुनुपर्छ । दोषीलाई कारवाही नगरुन्जेल बजार बन्द रहनेछ ।”
जलेश्वर बजार बन्दका कारण सर्वसाधारणको जनजीवन कष्टकर बनेको छ । यता व्यवसायीहरुले चौकचौकमा नारबाजी गरेर दोषीलाई कारवाहीको माग गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीले कुनै अप्रिय घटना हुन नदिन सदरमुकाम जलेश्वरमा सुरक्षाकर्मी परिचालन गरेका छन् । यता मिटरब्याज पीडितले आन्दोलन बिथोल्न आफूहरुमाथि यस्तो आरोप लगाएको बताएका छन् ।
Discussion about this post