काठमाडौं/बैशाख २० गते । काठमाडौंमा सम्पन्न एसीसी मेन्स प्रिमियर कपको उपाधि विजेता नेपाली क्रिकेट टोलीका खेलाडीलाई सरकारले जनही ६ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विजेता खेलाडीलाई जनही ६-६ लाखको दरले पुरस्कृत गर्ने निर्णय गरेको हो । यस्तै राष्ट्रिय क्रिकेट टिमका अफिसियललाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्। मन्त्रिपरिषद् बैठक राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षकलाई भने खेलाडी समान ६ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
मंगलबार भएको फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले हराउँदै उपाधिमाथि कब्जा जमाएको थियो । प्रिमियर कपको उपाधिसँगै नेपालले भारत र पाकिस्तान खेल्ने एसिया कपमा स्थान बनाएको छ । एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तानमा हुँदैछ ।
मन्त्रिपरिषद बैठकले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने निर्णय पनि गरेको मन्त्री शर्माले जानकारी दिइन् ।
Discussion about this post