ज्ञानु श्रेष्ठ/काठमाडौं । जीवनमा तनाव नै नहुने भन्ने हुँदै हुँदैन । सामान्य तनाव हुनु स्वभाविक हो । तर असामान्य तनाव मानिसको लागि खतरनाक हुनसक्छ । जब तनाव असिमित हुन थाल्छ, तब मानिस असिमित समस्याहरुको घेरामा पर्दछन ।
यतीबेला बैंक तथा वित्तिय क्षेत्रमा कर्मचारीहरुको असिमित तनाव पनि चरम उत्कर्षमा पुगेको पाइएको छ । आकर्षक तलब र अनेक सुविधाका कारणले बैंक तथा वित्तिय संस्थाहरुमा जागिर खानेको घुँइचो त लाग्छ, तर तनाव सिमापार छ । घण्टौंसम्म काम गर्नुपर्ने बाध्यता र समयमा नै खाना/खाजा खान नपाएको कारणले गर्दा कतिपय कर्मचारीहरुको मानसिक स्वास्थमा गम्भिर असर पर्ने गरेको देखिन्छ । कुनै काम लिएर तपाई हामी बैंकमा नै पुग्यौं भने बैंकका कर्मचारीहरु कामको यती धेरै चापमा हुन्छन्न कि, खाजा खानसमेत भ्याइरहेका हुँदैनन ।
निजी क्षेत्रको वाणिज्य बैंकको इतिहासमा नै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीको अनुभव पनि दुःखान्त छ । काठमाडौंमा हुनेखाने परिवारमा जन्मेकी उनलाई जागिरै खानुपर्ने गरी दुःख त थिएन तर, उनले समयमा नै खाना /खाजा समेत खान नपाएर अल्सर नै हुने गरी बैंकमा काम गरेको बताउँछिन् । बैंकको जागिर खान जाँदा समयमा खाजा खान समेत नपाउँदा धेरै पटक राजीनामा दिने संघारमै पुगेको उनको भोगाई छ । कामको चाप, तनाव, समय अभावका कारण उनले जागिरसँगै पढाइलाई समय दिन पनि नसकेको उनी बताउँछिन । सीईओ खुञ्जेलीले बैंकिङ्ग जीवनमा आफूले खुसी र तनाव दुबै महशुस गरेको बताउँछिन । बैंकिङ करियरका क्रममा खुशी भनेको प्रमोशनको बेला मात्रै हुने बताउँदै उनले भनिन, ‘काम गर्ने क्रममा धेरै तनाव त हुन्छ नै । तर बैंकिङ्ग धेरै हुन्छ । समयमा खाना/खाजा खानसमेत पाईदैन । टेक्नीकल समस्याले त धुरुक्कै रुवाउँछ । मेरो अनुभवमा त बैंकिङ्ग सुरु गर्ने वित्तिकै मलाई अल्सर नै भयो ।
जुनसुकै बेला पनि जागिर छाड्नुपर्ने हो कि भनेर गोजीमा राजीनामा पत्र बोकेर हिँड्थे ।’ बैंकमा काम गर्दा पैसाको कारोबार बढी गनुपर्ने हुन्छ । त्यसैले यो कामामा अलिक बढि संवेदनशील हुनुपर्ने हुँदा कमचारी तनावमा हुने गरेको नबिल बैंकमा लामो समय मानव संसाधन विभागमा काम गरेका कृष्ण केसीको बुझाई छ । हुन त उनी अहिले नबिल बैंककै इन्भेष्टमेन्ट बैंकिङ्गकै एडभाईजरी भूमीकामा काम गर्न पुगेका छन । तर उनीले बैंकको ‘एचआर मेकानीजम’ लाई राम्रोसँग बुझेका छन । उनी भन्छन् ‘म त खुसी नै छु ,जागिर हो, घरबाट बाहिर निस्किएपछि सबै कु्राको तनाव नै हुन्छ, बैंकमा काम गर्ने कर्मचारी बढी तनावमा र अन्य ठााँउमा काम गर्ने कर्मचारीहरु सहज अवस्थामा हुन्छन भन्ने मलाई लाग्दैन ।’ त्यसो त बैंकमा काम गर्ने कर्मचारी अलिक संवेदनशील त हुनै पर्छ ।
पैसाको कारोबार गर्ने पेसा त्यती सजिलो भने हुँदैन । मानिसले आफ्नो निजि जिवनलाई भने ख्याल गर्नुपर्छ । जागिर खाएर तनावमा हुनु नर्पर्ने उनी बताउँछन । उनी भन्छन, ‘कोही जागिर खाएर तनावमा छ भने किन जागिर खाने त ? जागिर छाडे भयो नि । आफ्नै इच्छाले जागिर खाएको आफ्नै इच्छाले छाड्न पाइन्छ ।’ उनले आफ्नो काममा रमाइलो गर्ने हो काम गर्न सहज हुने सुझाव पनि दिए । बैंकमा काम गर्दा खुशी र तनाव भन्ने कुरा बराबरी नै हुने गरेको नेपाल राष्ट्र बैकंका गुरु प्रसाद पौडेल बताउँछन् ।
नगदमा काम गर्नुपर्ने भएकाले अलिक बढि तनावमा हुनुपर्ने उनी बताउँछन् । उनी भन्छन् ‘खुशी र तनाव भन्ने कुरा बराबरी हुन्छ । कुन कामलाई कसैले सहज तरिकाले गर्न सक्छन त कसैल सक्दैनन । कुनै पनि कामलाई कुनै व्यक्तीले तनावको रुपमा लियो भने तनाव नै हुन्छ ।’ तर नगदमा काम गर्नुपर्ने हुँदा विभिन्न समस्याहरु आउने उनी बताउँछन । कहिले नगद सट हुने, जाली नोटहरु पर्नसक्ने, हिसाब नमिल्ने ,गडबडी हुने, धेरै लामो समयसम्म काम गनुपर्ने, खाजा खाने समय नपाइने लगायतका कारणले कर्मचारी तनावमा हुने गरेको उनी बताउँछन । नेपाल सरकारले बैंक तथा वित्तिय संस्थामा काम गर्ने, सरकारी तथा निजि क्षेत्रबाट संञ्चालीत संस्थाका कर्मचारीहरुलाई तालिममार्फत हौसला दिने विनियमवालीमै उल्लेख गरेको छ । राष्ट्र बैंकको कर्मचारी विनियमावलीमा कर्मचारीको सेवा, वृद्धि विकासका कुराहरु, कर्मचारीहरुले लिने विदाहरुको व्यवस्था भएको कारणले खासै तनाव लिनु नपर्ने पौडेल बताउँछन । तर यस्तो व्यवस्था हरेक संस्थामा हुन्छ ।
यता मानसिक स्वास्थका क्षेत्रमा लामो समय काम गर्दै आएकी ह्याप्पी माइण्डस डट हेल्थकी प्रवन्धक श्रेया गिरिले घण्टौसम्म काम गर्नुपर्ने बाध्यताले कर्मचारीको मानसिक स्वास्थयमा गम्भिर असर परेको बताउँछिन । कार्यालयमा काम गर्दा तनाव पनि उत्पन्न हुनसक्छ, लामो कार्यविधि, कामको कठिनाई, आर्थिक असुरक्षा, जागिर गुम्ने डर, सहकर्मी वा हाकिमसँगको झगडा लगायतका कारणले कार्यलयमा तनाव उत्पन्न हुने र आफ्नो क्षमताभन्दा बढि काम गर्नुपर्दा कर्मचारी तनावमा हुने उनी बताउँछिन ।
उनले तनावबाट मुक्त हुनको लागि स्वस्थ खाना खाने, थोरै समय आफ्नो लागि पनि निर्धारण गर्ने, दैनिक व्यायम गर्नुपर्ने सुझाव दिईन । कम तलबमा धेरै काम गर्न लगाउने, कामको दबाब धेरै दिने, कर्मचारीलाई जानकारी नै नदिई सरुवा गरिदिने, लामो समयसम्म काम गरेको कर्मचारीहरुलाई वास्तै नगर्ने लगायतका कारणले कर्मचारीहरुमा मानसिक समस्या बढिरहेको पाइन्छ । बैंक तथा वित्ति तथा कर्पोरेट संस्थाहरुमा काम गर्ने कर्मचारीमा मानसिक स्वास्थको अवस्था धेरै नाजुक रहेको र यसमा सरकार अथवा सम्बन्धित संस्थाले पनि हेरविचार गर्नुपर्ने श्रेया गिरि बताउँछिन ।
साभार स्रोत-Bankingsamachar.com बाट














Discussion about this post