यो बर्ष पुस १ गते देखि नै ह्वात्तै चिसो बढेको छ । बिस्तारै जाडो बढ्न थालेपछि न्यानोको लागि अनेक विकल्प खोज्ने मानिसको स्वभाव नै हो । जाडोले हामीलाई यति गाह्रो पार्छ कि यसबाट बच्न हामी विभिन्न तरिकाहरु अपनाउँछौं । जाडोको लागि भनेर अहिले बजारमा तातो लुगा र जुत्ताहरु उपलब्ध हुन थालिसकेको छ ।
जसको प्रयोगले थोरै भएपनि तातोको अनुभव हुन्छ । अहिले महिला र पुरुष दुवै बाहिरी कामकाजमा व्यस्त हुन्छन् । त्यसैले पहिला जस्तो घाम तापेर जाडोबाट बच्ने समय धेरैसँग हुँदैन । त्यसैले उनीहरु जाडोलाई कम गर्नको लागि हिटर र ब्लोवरको प्रयोग गर्न बाध्य छन् । आफूले काम गर्ने ठाउँमा हिटर अथवा ब्लोवरको प्रयोग गरेर जाडोलाई भगाउने कोसिस गरिरहेका हुन्छन् ।
त्यसैले हिजोआज जाडोबाट बच्न अर्थात् जाडो कम गर्नको लागि हिटरको धेरै प्रयोग धेरै भएको पाइन्छ । चिसो हावाबाट बच्नका लागि हिटरको प्रयोग धेरै नै आरामदायक हुन्छ । तर, के तपाईंलाई थाहा छ, थोरै पनि असावधानी भयो भने तपाईंको यस्तो बानी अर्थात् हिटरको प्रयोग खतरनाक पनि हुन सक्छ ? आज हामी जाडो मौसममा हिटर बालेर सुत्ने बानीबाट हुने नोक्सानीको बारेमा केही जानकारी प्रस्तुत गर्दैछौं ।
जब हामी कोठामा हिटरको प्रयोग गर्छौं, हिटरको तातो हावाले कोठा भित्रको कोमलता नष्ट हुन्छ । कोठा तातो हावाले भरिन्छ र हाम्रो छाला सुख्खा भएर तन्कन थाल्छ । त्यस्तो हावाले एलर्जी हुने खतरा पनि धेरै हुन्छ ।
यदि घरमा सानो बच्चा छ भने हिटरको प्रयोग गर्दा झनै सतर्क हुनुपर्छ । हिटरबाट निस्कने हावा तातो हुन्छ । जुन बच्चाहरुका लागि अति नै खतरनाक हुन्छ । त्यो हावाले बच्चालाई पोल्ने खतरा पनि हुन्छ ।
जुन व्यक्तिलाई श्वास–प्रश्वास सम्बन्धी समस्या हुन्छ । उनीहरुका लागि पनि हिटरले दिने तातो हावा खतरनाक हुनसक्छ । हिटरले फाल्ने तातो हावामा अक्सिजनको मात्रा कम हुने भएकोले श्वास–प्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुलाई सास फेर्न गाह्रो हुन्छ । त्यसैले दम अथवा छाला सम्बन्धी रोग भएका व्यक्तिहरुका लागि हिटरले हानि पुर्याउनसक्छ ।
हिटरले तताइएको तातो कोठाबाट जब तपाईं अचानक चिसो हावाको सम्पर्कमा आउनुहुन्छ । तपाईंको शरीरले तीब्र रुपको तापमानको परिर्वतनलाई झेल्छ । कहिलेकाहीँ शरीरले त्यस्तो अन्तरलाई सहन नसकेर विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।
लामो समयसम्म हिटरको नजिक बस्दा शरीर डढ्ने सम्भावना पनि हुन्छ । लामो समयसम्म हिटरमा बस्ने बानीका कारण विभिन्न प्रकारका छालाका समस्याहरु पनि उत्पन्न हुनसक्छ ।
केही प्रतिनिधि घटनाहरु हेरौ
चिसो अत्याधिक भएपछि हिटर बालेर सुतेका आठ भारतीय पर्यटकको गत बर्ष निसास्सिएर मृत्यु भयो । मकवानपुरको थाहा नगरपालिकाको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका चार पुरुष र चार महिला भारतीय पर्यटकहरुको मृत्यु भएको थियो । तीमध्ये चार बालबालिका छन् । मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी यज्ञप्रसाद भट्टराईले बताए ।
मंगलबार बिहान कोठाभित्र सबैजना बेहोस अवस्थामा भेटेपछि रिसोर्टका कर्मचारीले इलाका प्रहरी कार्यालय पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका आठैजनालाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौस्थित हेम्स अस्पताल पठाइएको डीएसपी भट्टराईले जानकारी दिए। ‘सबैको आकस्मिक कक्षमा उपचारका क्रममा निधन भएको खबर आएको थियो ।
डीएसपी भट्टराईले रिसोर्टका कोठामा राति हिटर बालेर सुतेका कारण निसास्सिएर मृत्यु भएको निश्कर्ष निकालेका थिए । ती भारतीय पर्यटक पोखराबाट उक्त रिसोर्टमा बास बस्न पुगेका थिए ।
यता कीर्तिवुर सुन्दरबस्ती डेरा गरी बस्ने धादिङ नौबिसे–९ रुपाकोटका ४५ वर्षीय नवराज रन्जितकारले गत ३० मंसिरमा दुई महिनाकी सुत्केरी श्रीमतीलाई सेक्न कोठाभित्र कोइला बाले । बाहिरबाट चिसो नआओस् भनेर झ्यालढोका पनि थुने । त्यसपछि श्रीमानश्रीमती दुवै मिलेर काखे बालकलाई सेकाए । कोइलाको राप ननिभ्दै खाना खाए र सुते । कोइलाको न्यानोले छिट्टै निदाएका नवराज एकैचोटि भोलिपल्ट बिहान मात्रै ब्युँझे । ब्युँझिदा उनले टाउको दुखेको अनुभव गरे ।
आँखा पनि धमिलोधमिलो भएको थियो । तर, पनि सकी नसकी उठे । सँगै सुतेकी श्रीमती शर्मिलालाई पनि उठान खोजे । तर, उनी उठिनन् । छोरा रमेशलाई पनि झक्झकाए उनी पनि चलमलाएनन् । अघिल्लो रात बालेर छोडेको कोइलाका कारण कोठामा अक्सिजन कमी भएर दुवै आमाछोराको मृत्यु भइसकेको थियो ।
ललितपुर सातदोबाटोस्थित सुरिवा गल्र्स होस्टलमा बस्ने पर्सा जगनाथपुर–४ की १९ वर्षीया जेनेथ चौहान नुहाउन गत १९ पुसमा बाथरुम छिरिन् । तातोपानीका लागि ग्यास गिजर अन गरिन् । बाथरुमको झ्याल ढोका बन्द गरिन् । तातोपानीले बाथटपमा भरिन् र बाथटपको तातोपानीमा डुबुल्की मरिन् ।
११ बजे बाथरुम छिरेकी उनी निक्कै बेरसम्म पनि बाहिर ननिस्केपछि खोजी भयो । यो खबर होस्टल वार्डेनसम्म पुग्यो । होस्टल वार्डेनसहित उनका सहपाठी बाथरुमको ढोका ढक्ढकाउन थाले । तर, खुल्दै खुलेन । अन्ततः बाथरुमको झ्याल फोडियो । भित्र हेर्दा जेनेथ ढलेको अवस्थामा भेटिइन् । उपचारका लागि उनलाई तत्काल अस्पताल लगियो । तर, उनको उपचार हुन सकेन ।
त्यही महिनको पहिरो शुक्रबार भक्तपुर सूर्यविनायक दधिकोटकी ६७ वर्षीया रेणुकाकुमारी बाँस्तोला जाडो भगाउन कोठामै आगो ताप्दै थिइन् । यही क्रममा उनको फरियामा आगो सल्कियो । निभाउन खोज्दा झनै दन्कियो । नजिकै थिए उनका ३५ वर्षीय छोरा राजेन्द्र बाँस्तोला । उनले दन्किएको आगो हातको पन्जाले निभाउन खोजे । आगो झनै दन्कियो । बल्लतल्ल आगो नियन्त्रणमा आयो । यस वेलासम्म रेणुको आधा शरीर जलिसकेको थियो । आगो निभाउने राजेन्द्रको पनि दुवै पन्जा डडिसकेका थिए । रणुको कीर्तिपुरस्थित अस्पतालमा उपचार भयो । सामान्य उपचारपछि राजेन्द्र भने फर्किए ।
यी घटना शरीरलाई न्यायो बनाउने ध्याउन्नमा सामान्य सावधानीसमेत नअपनाउन निम्तिएका उदाहरण हुन् । घटनाका पात्र र ठाउँ फरक–फरक छन्, तर परिणाम समान छन् । प्रहरीको तथ्यांकअनुुसार उपत्यकाभित्र मात्रै यस्ता घटना प्रत्येक वर्ष ६ देखि ८ वटा हुन्छन् । जसमा १० भन्दा धेरैले अकालमा ज्याउन गुमाउँछन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखका अनुसार जाडोको वेला शरीर न्यानो बनाउने सुरमा सावधानी नअपनाएकै कारण यस्ता घटना प्रत्येक वर्ष हुने गरेका छन् । , ‘जाडो छ शरीरलाई न्यायो बनाउन खोज्नु स्वाभाविक हो । तर, यसमा हामी सावधानी अपनाउदैनौँ । कोठा तताउन माकल बाल्छौँ । तर, झ्याल ढाका पूरै बन्द गर्छौैँ । अक्सिजन छिर्दैन । सोही कारण ज्यानै जान्छ ।
कीर्तिपुरमा भएको त्यही हो ।’ प्रहरीका अनुसार कोठा तताउन सर्वसाधरण रातभर हिटर बालेर सुत्छन् । हिटर कपडामा सल्किन्छ । अनि दुर्घटना हुन्छ । गृह मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष काठमाडौं उपत्यकामा मात्रै आगलागीका कारण पाँचजनाको मृत्यु भयो भने ७५ जना घाइते भए । घटनाबाट एक सय ९१ जना प्रभावित बने । जसकारण १६ करोड ५७ लाख ३८ हजार नौ सय १५ रुपैयाँबराबरको सम्पत्ती नष्ट भयो ।
अपनाऔँ सावधानी
शुक्रराज ट्रोपिकल अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार झ्याल ढोका बन्द गरेर धेरै समयसम्म आगो ताप्दा कार्बन मनोअक्साइट उत्सर्जन हुन्छ । यसले रगतमा अक्सिजनको मात्रा कम गराउँछ । जसकारण मानिस बेहोस हुन्छ । यही क्रममा मुटुको चाल बन्द भई मृत्यु हुन्छ । यसबाट बच्न लामो समयसम्म बन्द कोठामा आगो ताप्नु भएन । तापे पनि झ्याल ढोका खुल्लै राख्नुपर्छ । घटना भइहाले तत्काल उपचारका लागि अस्पताल जानुपर्छ ।
पछिल्लो केही दिनयता देशभर अत्यधिक चिसो बढेको छ। जसले गर्दा देशका उच्च पहाडी भेगमा हिमपात तथा तराई भेगमा शीतलहर सुरु भएको छ। चिसो बढेको बेला मानिसका दैनिकी पनि कष्टकर हुँदै गएको छ।
चिसोमा स्वास्थ्यमा समेत गम्भीर खालका समस्या देखिने हुनाले चिसोबाट बच्न विभिन्न खालको उपायहरू अपनाउने गरिन्छ। ग्रामीण भेगमा आगो बालेर चिसोबाट बच्ने भए पनि शहरी भेगमा धेरैले हिटर ताप्ने प्रचलन बढ्दो छ।
धेरैले चिसोबाट बच्न हिटरको प्रयोग गर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ। यसरी चिसोबाट जोगिन घरको झ्याल ढोका बन्द गरेर हावा नछिर्ने गरी हिटर ताप्दा कोठामा कार्बनडाइअक्साइड वा कार्बन मोनोअक्साइड ग्यास बढ्न जाने र उक्त ग्यास धेरै समयसम्म शरीरमा प्रवेश गर्दा विभिन्न प्रकारको समस्या देखिन सक्ने वा मृत्यु नै पनि हुन सक्ने विशेषज्ञहरू बताउँछन्। जसले गर्दा चिसोबाट बच्न हिटर ताप्दा विशेष सावधानी अपनाउनुपर्ने बताइन्छ।
हिटर ताप्दा ध्यान दिन जरुरी
आगो वा हिटरको प्रयोग गर्दा राम्रोसँग हावा वारपार हुने ठाउँमा बसेर मात्र प्रयोग गर्नुपर्ने चिकित्सकहरूले सुझाव छ। लामो समयसम्म हिटर ताप्ने गर्दा यसबाट निस्कने विभिन्न खालका रासायनिक तत्त्वहरूले हाम्रो स्वास्थ्यलाई थप असर गर्ने गर्छ। धेरै गर्मी र शरीर सुक्खा बनाउँछ धेरै समयसम्म हिटर लाप्ने गर्दा यसले हाम्रो शरीरलाई गर्मी पैदा गर्नुका साथै छाला सुक्खा गराइदिन्छ। यस्तै हिटरको हावाले छाला सुक्खा हुने गर्छ।
यसले छाला फुट्ने चाउरीपन देखापर्ने गर्छ। आखाँको ज्योति कमजोर बनाउँछ कोठामा बालिने हिटरले हामीलाई चिसोबाट बच्न सहयोग गर्छ। तर, लामो समयसम्म कोठामा हिटर बालेर ताप्दा यसको प्रकासले हाम्रो आँखालाई असर पुर्याउँछ, यसले आँखाको ज्योति कमजोर बनाउनुका साथै आँखा सुक्खासम्म बनाउँछ। त्यसैले नजिकै बसेर हिटर ताप्नु हुँदैन। हिटर ताप्दा सकेसम्म १० सेन्टिमिटर टाढा राखेर हिटर ताप्ने गर्नुपर्छ।
इलेक्ट्रिकलभन्दा ग्यास हिटर ताप्नु राम्रो
यदि हिटर ताप्दै हुनुहुन्छ भने इलेक्ट्रिकल हिटरभन्दा ग्यास हिटर ताप्नु स्वास्थ्यको लागि राम्रो हुन्छ। ग्यास हिटरले इलेक्ट्रिकल हिटरभन्दा कम अक्जिनलाई असर गर्छ। यस्तै ग्यास हिटरले कार्बनमोनोअक्साइड ग्यास पनि कम फाल्ने गर्छ। जसले गर्दा लामो समयसम्म पनि ग्यास हिटर ताप्ने गर्दा पनि स्वास्थ्यलाई खासै असर गर्दैन। सबैको अकालमा जाने ज्यान बचाऔँ । सबैको जानकारीका लागि सेयर गरौँ ।
Discussion about this post