सिरहा।सिरहाको लहान–ठाडी सडकखण्डको महेशबारीमा २ वटा अटोरिक्सा एक आपसामा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । लहान–ठाडी सहायक सडकखण्डको सखुवानन्कारकट्टि गाउँपालिका–५ महेशबारीमा गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दक्षिणबाट उतरतर्फ जाँदै गरेको स १ ह ३३२० नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आउँदै गरेको अनटेस्ट अटोरिक्सा मंगलबार राति एकापसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी स १ ह ३३२० नम्बरको अटोरिक्सामा सवार भगवानपुर बस्ने २० वर्षीया रन्जुकुमारी यादवको उपचारका लागि लहान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
सोही अटोरिक्सामा सवार लक्ष्मीपुरपतारी गाउँपालिका–६ का ६५ वर्षीय मोहम्मद रहमान, ३० वर्षीय मोहम्मद अब्दुला राइन र भगवानपुर गाउँपालिका–१ का ३० वर्षीया पुनम यादव घाइते भएको प्रहरीले जनाएको छ । दुवै अटो प्रहरी नियन्त्रणमा रहेका छन् । स १ ह ३३२० नम्बर अटो चालक पक्राउ परेका छन् भने अनटेस्ट अटोका चालक फरार भएको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post