उमेश कुमार साह/सप्तरी,चैत ८ गते।तेश्रो संस्करणको ‘राजविराज मेयर कप सप्तरी प्रिमियर लिग’ सुरु भएको छ । उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्याे ।

राज रंगशालामामा रुपनीले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएकाे बोदे बर्साईनले २० ओभरमा सबै विकेट गुमाउँदा १ सय ३४ रन मात्र बनाउन सक्यो ।
बोदे बर्साईनका लागि नारायण जोसीले सर्वाधिक ३३, कप्तान सिद्धान्त लोहनीले २४ , योगेन्द्र सिंह कार्की र विकाश दासले समान १७ रन बनाए ।
रुपनी राईडर्सको बलिङमा सुमित झाले सर्वाधिक चार विकेट झारे । अनिल यादवले २ विकेट तथा फिर्दोस अन्सारी, सुनिल धमला, कुशल भुर्तेल र अनुजकुमार यादवले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको रुपनी राईडर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।रुपनीका लागि ओपनर सुनिल धमलाले सर्वाधिक ५४ रन बनाए । यसैगरी, निरज मुखियाले १९, अनिल यादवले अविजित १७, अनुज यादवले अविजित १५ र कुशल भुर्तेलले १२ रन बनाए ।
प्लेयर अफ द म्याच सुनिल धमला बने । लिगअन्तर्गत भाेलि दुई खेल हुनेछन् । बिहान ९ बजे हुने पहिलो खेलमा दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोइलाडी जायन्टस र पवन सर्राफ कप्तानीको बजाज खडक वारियार्सबीच प्रतिस्पर्धा हुने छ । दिउँसो १ बजे हुने दाेस्राे खेलमा मेहबुब आलम कप्तानीकाे टिभीएस किङ्स राजविराज र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले प्रतिस्पर्धा गर्नेछन् ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादवले ब्याटिङ तथा उपमेयर साधना झाले बलिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीशकुमार सिंह, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, बोदे बर्साईन नगरपालिकाका मेयर आतेष कुमार सिंह यादव लगायतको उपस्थिति थिए।














Discussion about this post