जनकपुरधाम/कार्तिक २१ गते । मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रम तथा गतिविधिहरूको प्रदेशस्तरीय तीनदिने वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ।
गोष्ठीका क्रममा विभिन्न जिल्ला, प्रादेशिक अस्पताल, प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कन (Performance Evaluation) को नतिजा सार्वजनिक गरिएको छ।
सार्वजनिक नतिजाअनुसार जिल्लातर्फ पर्सा प्रथम, स्वास्थ्य कार्यालय सर्लाही द्वितीय र स्वास्थ्य कार्यालय धनुषा तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
त्यसैगरी, प्रादेशिक अस्पतालतर्फ मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, जनकपुरधाम प्रथम भएको छ। कलैया अस्पताल, बारा द्वितीय र गौर अस्पताल, रौतहट तृतीय भएका छन्।
प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयतर्फ पर्सा प्रथम, बारा द्वितीय र सिरहा तृतीय स्थानमा रहेका छन्।
स्थानीय तहतर्फ लालबन्दी नगर अस्पताल, सर्लाही प्रथम भएको छ। विष्णुपुर गाउँपालिकाको नगर अस्पताल, सर्लाही द्वितीय र बौधिमाई नगरपालिकाको नगर अस्पताल, रौतहट तृतीय स्थान हासिल गर्न सफल भएका छन्।
कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट स्थान हासिल गर्ने सबै जिल्ला, प्रादेशिक अस्पताल, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय र स्थानीय तहलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।
समीक्षा गोष्ठीले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र व्यवस्थित बनाउन तथा आगामी दिनमा स्वास्थ्य कार्यक्रमहरूको कार्यान्वयनमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैगरी, स्वास्थ्य सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्याउने गैरसरकारी संघसंस्था, जिल्लाका सम्पूर्ण स्वास्थ्यकर्मी, स्थानीय तह, स्वास्थ्य संस्था तथा सम्बन्धित सरोकारवाला निकायप्रति आयोजकले आभार व्यक्त गरेको छ।
















Discussion about this post