काठमाडौं/कार्तिक २१ गते। काग तिहार २०८३: चर्चित एवं बहुप्रतिभाशाली कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारको अवसरमा काठमाडौंको दरबारमार्गस्थित नारायणहिटी दरबार संग्रहालय अगाडि सयौँ काग बोलाएर २३औँ काग सम्मेलन सम्पन्न गरेका छन्।
शनिबार बिहान कागको वास्तविक आवाज निकालेर दुलालले आकाशमा उडिरहेका कागलाई एकै ठाउँमा जम्मा गरेका थिए। राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कार्यसमितिको आयोजना तथा इलामको सन्दकपुर गाउँपालिकाको सहआयोजनामा उक्त कार्यक्रम गरिएको हो।
कार्यक्रमको मुख्य प्रायोजकमा गैरआवासीय नेपाली संघ (एनआरएनए) का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन रहेका थिए भने प्रायोजकमा उपाध्यक्ष प्रवीण गुरुङ रहेका थिए। यसैगरी, सहप्रायोजकका रूपमा पूर्णप्रसाद लामिछाने, राजेश कार्की, रुद्रप्रसाद चापागाईं, शंकरप्रसाद आचार्य, ग्रीन सिटी हस्पिटल र कोरा होलिडेजको सहयोग रहेको थियो। कार्यक्रमको मिडिया पार्टनरमा जनसवाल पब्लिकेशन रहेको थियो।
काग तिहारको धार्मिक तथा सांस्कृतिक महत्त्व उजागर गर्नुका साथै नेपाली मौलिक परम्पराको संरक्षण र चराचुरुङ्गीप्रति सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको आयोजकले जनाएका छन्।
परम्परा र कलाको अनौठो संगम
यमपञ्चकको पहिलो दिन मनाइने काग तिहारमा कागलाई यमराजको दूतका रूपमा मानिन्छ। कागले शुभ समाचार ल्याउँछ भन्ने धार्मिक विश्वासका साथ यस दिन कागलाई मीठा खानेकुरा खुवाएर पूजा गर्ने चलन छ। साथै, प्रकृतिको सरसफाइमा महत्त्वपूर्ण भूमिका खेल्ने कागलाई सम्मान गर्ने पर्वका रूपमा समेत काग तिहारलाई लिइन्छ।
कागको आवाज हुबहु निकाल्न सक्ने विशेष खुबी भएका दुलालले विगत दुई दशकभन्दा बढी समयदेखि काग तिहारको अवसरमा यो सम्मेलन गर्दै आएका छन्। उनले कागसहित १७३ प्रकारका जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्न सक्ने कला प्रस्तुत गर्दै आएका छन्। मुखकै सहायताले विभिन्न बाजाको धुनसमेत निकाल्न सक्ने दुलालको यो कला दर्शकका लागि सधैँ आकर्षणको केन्द्र बन्ने गरेको छ।
विगतमा रत्नपार्क, नारायणहिटी दरबार संग्रहालयलगायत विभिन्न स्थानमा काग सम्मेलन गर्दै आएका दुलालले यस वर्ष २३औँ संस्करण सफलतापूर्वक सम्पन्न गरेका छन्।
संवाद र संरक्षणको सन्देश
दुलालका अनुसार कागलाई बोलाउँदा उसको स्वभाव र भाषा बुझेर सोहीअनुरूप आवाज निकाल्नुपर्छ। कागसँग उसकै भाषामै संवाद गरेपछि उनीहरू आकर्षित भएर आउने उनको लामो समयको अनुभव छ।
आयोजकले जनाए अनुसार यस सम्मेलनले मनोरञ्जन प्रदान गर्नुका साथै चराचुरुङ्गीको संरक्षण, जैविक विविधताको महत्त्व र वातावरणीय सन्तुलन कायम राख्नुपर्ने सन्देश दिएको छ। काग तिहारको परम्परालाई कलाकारितासँग जोडेर निरन्तरता दिँदै आएका दुलालको यो अभियानले नेपाली मौलिक संस्कृति र प्रकृतिप्रतिको सम्मानलाई नयाँ पुस्तामाझ चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ।
















Discussion about this post