जनकपुरधाम/कार्तिक २१ गते। मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रदेश घोषणा गरिएको छ। प्रदेशका आठवटै जिल्ला र १३६ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेसँगै बिहीबार (२०८३ कार्तिक २० गते) मधेश प्रदेशलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
देशभर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान उत्साहका साथ सञ्चालन भइरहेका बेला मधेश प्रदेशले पनि यो उपलब्धि हासिल गरेको हो।
१६ देखि २३ महिनासम्मका बालबालिकाले १५ महिनाको उमेरभित्र लगाउनुपर्ने सबै खोपको पूर्ण मात्रा प्राप्त गरेको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ। यस घोषणाले प्रदेशमा बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा ल्याउने तथा खोप कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धतालाई समेत दर्शाएको छ।
मधेश प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. प्रमोदकुमार यादवको अध्यक्षतामा आयोजित घोषणा कार्यक्रममा राष्ट्रिय खोप सल्लाहकार समितिका सदस्य डा. गरिब दास ठाकुर प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत सञ्जयकुमार महासेठलगायत स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
प्रदेशका सबै जिल्ला र स्थानीय तहमा पूर्ण खोप सुनिश्चितता कायम हुनु बालस्वास्थ्य प्रवर्द्धन र रोग नियन्त्रणका क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यस उपलब्धिलाई दिगो बनाउँदै आगामी दिनमा पनि प्रत्येक बालबालिकालाई नियमित खोपको पहुँचमा पुर्याउनु चुनौती र जिम्मेवारी दुवै रहेको छ।
















Discussion about this post