६ असोज। भारत बिहारको जमुईमा नाबालिगमाथि भएको दुर्व्यवहारको भिडियो भाइरल प्रकरणमा प्रहरीले फरार आरोपीविरुद्ध कारबाही तीव्र पारेको छ। घटनाका मुख्य आरोपी नन्दन यादव र अर्का आरोपी हरे रामसँग प्रहरीको मुठभेड भएको प्रहरीले जनाएको छ।
मुठभेडका क्रममा नन्दन यादवको खुट्टामा गोली लागेको बताइएको छ। अर्का आरोपी हरे रामको खुट्टा भाँचिएको जानकारी प्रहरीले दिएको छ। मुठभेडपछि दुवैलाई उपचारका लागि जमुई सदर अस्पताल लगिएको छ।
बिहार प्रहरीका एडीजी (ल एन्ड अर्डर) ले प्रहरी कारबाहीको पुष्टि गरेका छन्। यसअघि उक्त घटनामा प्रहरीले तीन आरोपीलाई पक्राउ गरिसकेको थियो भने मुख्य आरोपीसहित चार जना फरार रहेको बताइएको थियो।
घटनाको अनुसन्धानका लागि सीआईडीको विशेष टोलीसमेत जमुई पुगेको छ। टोलीले घटनासम्बन्धी अनुसन्धान अघि बढाइरहेको प्रहरीले जनाएको छ।
यसैबीच, नाबालिग पीडिताको पहिचान सार्वजनिक गर्ने १२० वटा सामाजिक सञ्जाल अकाउन्टमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ। विवादित भिडियो हटाउन सम्बन्धित प्लेटफर्महरूलाई टेक–डाउन नोटिससमेत जारी गरिएको छ।
प्रहरीले नाबालिग पीडिताको पहिचान खुल्ने कुनै पनि सामग्री सामाजिक सञ्जालमा शेयर वा पुनः पोस्ट नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। घटनामा संलग्न फरार अन्य आरोपीको खोजी तथा पक्राउका लागि विभिन्न स्थानमा छापा मार्ने काम जारी रहेको प्रहरीले जनाएको छ।
दुईदिन अघि विद्यालयबाट घर फर्किरहेकी छात्रा लाई युवाहरुको एक समूहले जमुई स्थित बाटोमै लखेटी लखेटी दुर्व्यवहार गरेका थिए।















Discussion about this post