जनकपुरधाम/असोज ५ गते । रामायणकालीन इतिहास बोकेको दुधमती नदीको संरक्षण तथा विकासका लागि अभियानसँगै नीतिगत पहल आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
दुधमती नदी विभिन्न मानवीय गतिविधिका कारण फोहोर, दूषित र कुरूप बन्दै गएको अवस्थामा दुधमती नदी सरोकार समाजले जनकपुरधाम–२२ स्थित जानकी घाटमा विगत ३६० हप्तादेखि नियमित सरसफाइ, नदी किनारमा वृक्षारोपण तथा धार्मिक एवं ऐतिहासिक पर्वहरूको व्यवस्थापन गर्दै आएको छ। अभियानबाट मात्रै अपेक्षित सुधार हुन नसकेको निष्कर्षसहित प्रदेश सरकार, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवालामार्फत नीतिगत सुधारका लागि ‘दुधमती संवाद : अभियानदेखि नीतिसम्म’ कार्यक्रम आयोजना गरिएको हो।
मैथिली विकास कोषको सभाहलमा आयोजित कार्यक्रममा मधेश प्रदेश नीति तथा योजना आयोगका निवर्तमान उपाध्यक्ष डा. सोहन साहले दुधमती नदी हरित करिडोर निर्माणको योजना वातावरण तथा नदीमैत्री हुनुपर्ने बताउनुभयो। उहाँले दुधमतीलाई मधेश प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
डा. साहले आफ्नो कार्यकालमा पहिलोपटक समपूरक अनुदानअन्तर्गत दुधमती नदी उत्खननका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गराउन पहल गरेको जानकारी दिनुभयो। नदीको विकास तथा निर्माणका क्रममा प्राकृतिक संरचनामा असर नपर्ने गरी प्रकृतिमैत्री ढंगबाट काम गर्नुपर्ने उहाँको भनाइ थियो।
कार्यक्रममा ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयका सचिव रामकुमार खङ्गले दुधमती नदी उत्खनन, हरित करिडोर तथा हरित पार्क निर्माणका लागि दुईवटा समिति गठन भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार मुख्यमन्त्रीको संयोजकत्वमा एउटा र बहालवाला मन्त्रीको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ।
सचिव खङ्गले पहिलो चरणमा दुधमती करिडोरका लागि करिब १२ करोड रुपैयाँ विनियोजन गरिएको र त्यसअन्तर्गत ६ किलोमिटर नहर उत्खनन तथा नदीको दुवैतर्फ ५/५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको बताउनुभयो। तर, जग्गा अतिक्रमण तथा विभिन्न स्थानमा देखिएका अवरोधका कारण योजना कार्यान्वयनमा कठिनाइ भइरहेको उहाँले उल्लेख गर्नुभयो।
त्यस्तै, दोस्रो चरणअन्तर्गत करिब १९ करोड रुपैयाँको परियोजना एक महिनाभित्र सञ्चालन गर्ने तयारी रहेको र त्यसमा मन्दिर, पुल तथा १५० मिटर घाट निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख वन अधिकृत विनोद सिंहले दुधमती नदी सरोकार समाजले विभिन्न माध्यमबाट गर्दै आएको सचेतना अभियानको प्रभावस्वरूप नदी संरक्षण तथा विकासको गति बढेको बताउनुभयो। उहाँले दुधमतीको उद्गमदेखि अन्तिम बिन्दुसम्म संरक्षण तथा विकासका काम अघि बढाउनुपर्नेमा जोड दिँदै छोटो र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो।
विकास निर्माणका क्रममा अवरोध गर्ने कार्यलाई निरुत्साहित गर्न प्रदेश सरकारले आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने र ठोस योजना तथा रणनीतिका साथ दुधमती संरक्षण अभियानलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो।
उद्योग वाणिज्य संघ मधेश प्रदेशका अध्यक्ष प्रदीप दत्तले दुधमती नदीलाई आर्थिक विकास तथा पर्यटनसँग जोड्नुपर्ने बताउनुभयो। दुधमतीको ऐतिहासिक तथा सांस्कृतिक कथालाई पर्यटकीय उत्पादनका रूपमा विकास गरी प्रचार–प्रसार गर्नुपर्ने उहाँले सुझाव दिनुभयो।
नेपालको पर्यटन विकासमा नेपाल–भारत सीमा क्षेत्रको व्यवस्थापन पनि महत्वपूर्ण रहेको उल्लेख गर्दै दत्तले सीमामा पर्यटकलाई आवश्यक सूचना उपलब्ध गराउने कार्यालय स्थापना तथा पर्यटकका लागि सहज वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो। साथै, ई–रिक्सा चालकहरूसँग समन्वय गरी उनीहरूलाई ‘दुधमती दर्शन’ तथा पर्यटन प्रवद्र्धनमा परिचालन गर्न सकिने उहाँको सुझाव थियो।
कार्यक्रममा जनकपुरधाम–२२ का वडाध्यक्ष विमलेश मिश्र, ईसीजी फाउन्डेसनका दिपु ठाकुर, अभियन्ता अमरेन्द्रकुमार यादव, गंगासागर सफाइ अभियन्ता बजरंग यादव, गेरुका नदी सफाइ अभियन्ता हरिश्चन्द्र यादव, दुधमती सफाइ अभियन्ता निशान्त सिंह, राजकुमार पण्डित, धनिकलाल सहनीलगायत विभिन्न अभियानमा सक्रिय अभियन्ताहरूको सहभागिता रहेको थियो।
दुधमती नदी सरोकार समाजका संरक्षक सुरेशप्रसाद शर्माले दुधमती नदीको ऐतिहासिक, धार्मिक तथा पर्यावरणीय महत्वबारे प्रकाश पार्नुभएको थियो। समाजका सचिव आनन्द सहनीले सञ्चालन गर्नुभएको कार्यक्रममा समाजका अध्यक्ष सुदीपकुमार मण्डलले आगामी दिनमा ‘दुधमती संवाद’ बाट प्राप्त निष्कर्षलाई सरोकारवाला निकायसँग समन्वय तथा छलफल गरी कार्यान्वयनतर्फ अघि बढाइने बताउनुभयो।
उहाँले दुधमती संवाद कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिनुभयो।















Discussion about this post