काठमाडाैं/असाेज ५ गते । विश्व शान्ति दिवस संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष सेप्टेम्बर २१ मा संसारभर मनाइन्छ। सन् २०२६ का लागि संयुक्त राष्ट्र सङ्घले तय गरेको आधिकारिक नारा ‘शान्तिमा लगानी गरौँ – सबैका लागि, सबै ठाउँमा, हरेक दिन’ रहेको छ। यस नाराले शान्ति भन्ने कुरा भाषण वा राजनीतिक वार्तामा मात्र सीमित नभई नागरिकहरूले दैनिक जीवनमा गर्ने व्यवहार, आपसी संवाद, सद्भाव र सहकार्यबाट निर्माण हुन्छ भन्ने कुरामा जोड दिन्छ।
विश्व शान्ति दिवसकाे प्रमुख उद्देश्यमा अहिंसा र युद्धविराम रहेकाे छ। जसअनुसार विश्वभर चर्किएका सशस्त्र द्वन्द्वहरूलाई रोक्न २४ घण्टे विश्वव्यापी युद्धविरामको आह्वान गर्ने, दैनिक शान्तिदूतकाे रूपमा समाज, विद्यालय र समुदायमा भइरहेका साना तर प्रभावकारी शान्ति स्थापनाका प्रयासहरूलाई प्रवर्द्धन गर्ने र मानव अधिकार र न्यायका बारेमा पैरवी गर्ने, जसअनुसार मानव अधिकारको रक्षा गर्दै गरिबी, असमानता र विभेद अन्त्यका लागि सहकार्य बढाउने रहेकाे छ ।
संयुक्त राष्ट्र सङ्घको साधारण सभाले सन् १९८१ मा शान्ति दिवस मनाउने निर्णय गरेको थियो, पहिलो पटक सन् १९८२ को सेप्टेम्बर तेस्रो मङ्गलबार पहिलो शान्ति दिवस मनाइएकाे थियो भने स्थायी रूपमा सन् २००१ मा संयुक्त राष्ट्र सङ्घले हरेक वर्षको सेप्टेम्बर २१ लाई स्थायी रूपमा विश्व शान्ति दिवस र अहिंसा/युद्धविराम दिवसका रूपमा मनाउने घोषणा गर्यो।
हरेक वर्ष न्यूयोर्कस्थित संयुक्त राष्ट्र सङ्घको मुख्यालयमा रहेको “जापानी शान्ति घण्टा” बजाएर यस दिवसको शुभारम्भ गरिन्छ। यो घण्टा विश्वका ६० भन्दा बढी देशका बालबालिकाले दान गरेका सिक्काहरू पगालेर बनाइएको हो।















Discussion about this post