जनकपुरधाम/असोज ४ गते । जनकपुरधाम उपमहानगरपालिका–८ स्थित रामानन्द चोकमा एक घरमा अचानक आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।
आगलागीमा परी मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय किशोरी सहनी रहेका छन्। उनी पूर्व शिक्षकसमेत रहेको बताइएको छ।
आगलागी भएको समयमा सहनीसँगै उनकी नातिनीसमेत घरमा रहेकी थिइन्। आगो लागेको थाहा पाएपछि नातिनी भागेर ज्यान जोगाउन सफल भएकी छन्। घटनामा सहनी भने आगोमा परी गम्भीर रूपमा जलेका थिए। उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
आगलागीको सूचना पाएलगत्तै प्रहरी तथा दमकल टोली घटनास्थलमा पुगेका थिए। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट घरमा समेत क्षति पुगेको छ।
आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरणसमेत आउन बाँकी रहेको छ।















Discussion about this post