वीरगन्ज/भदौ २९ गते। वीरगन्ज महानगरपालिकाका निलम्बित मेयर राजेशमान सिंहले भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएका छन्।
विशेष अदालतमा सोमबार भएको बहसपछि न्यायाधीशत्रय बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सिंहसहित मुद्दामा प्रतिवादी बनाइएका ७ जनालाई नै सफाइ दिएको हो।
विशेष अदालतको उक्त फैसलासँगै भ्रष्टाचार मुद्दा दायर भएपछि निलम्बनमा परेका सिंहको मेयर पदसमेत फुकुवा भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २५ गते सिंहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अख्तियारले सिंहले अर्काको छोरीलाई आफ्नै छोरीका रूपमा उल्लेख गरी झूटो विवरणका आधारमा नागरिकता दिलाएको आरोप लगाएको थियो।
मुद्दा दायर भएपछि सार्वजनिक पदमा रहेका व्यक्तिविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विशेष अदालतमा दायर हुँदा पद निलम्बन हुने कानुनी व्यवस्थाअनुसार सिंह सोही दिनदेखि मेयर पदबाट निलम्बित भएका थिए।
अख्तियारका अनुसार सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० की रिता भट्टराईकी छोरीलाई आफ्नै छोरी ‘रुविना श्रेष्ठ’ कायम गरी नागरिकता दिलाएको आरोप थियो। तर सिंहले भने रिता भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका थिए।
यस मुद्दामा अख्तियारले सिंह सँगै वीरगन्ज महानगरपालिका–३ का तत्कालीन वडा सचिव भिखारी राय, तत्कालीन कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेल, गृह मन्त्रालयका तत्कालीन उपसचिव पुष्कर राना र शाखा अधिकृत पर्शुराम पोखरेलसहित ७ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
विशेष अदालतको फैसलापछि सिंहमाथि लागेको उक्त भ्रष्टाचार मुद्दाबाट सफाइ भएको छ भने निलम्बनमा परेको उनको मेयर पदसमेत फुकुवा भएको हो।


















Discussion about this post