काठमाडौं/भदौ २६ गते। नेपालमा पछिल्लो समय सूचना प्रविधिका क्षेत्रमा वैदेशिक लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको पाइएको छ। उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा प्राप्त कुल १ हजार ११६ वटा परियोजनामध्ये सूचना प्रविधि क्षेत्रका मात्रै ७२७ वटा रहेका छन्।
गत आवमा प्राप्त प्रतिबद्धता अनुसार लगानीकर्ताहरूले विभिन्न क्षेत्रका १ हजार ११६ परियोजनाका लागि कुल ५८ अर्ब रुपैयाँ वैदेशिक लगानीको प्रतिबद्धता जनाएका हुन्। यसअघि आर्थिक वर्ष २०८१/८२ मा ८४२ वटा परियोजनाका लागि करिब ६४ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो।
विभागका अनुसार सूचना प्रविधिबाहेक पर्यटन क्षेत्रमा २२७, सेवामूलक क्षेत्रमा ७१, उत्पादनमूलक क्षेत्रमा ६३, कृषिमा १८, ऊर्जामा ४ र पूर्वाधारका क्षेत्रमा २ वटा परियोजनामा वैदेशिक लगानीको प्रतिबद्धता आएको छ।
उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालका अनुसार लगानीकर्ताहरूले मुख्यगरी आफ्नो रुचि र सम्भावना भएका क्षेत्रमा नै चासो देखाउने गरेका छन्। केही परियोजनाहरू ठूलो पुँजीका हुने भएकाले कुनै वर्ष परियोजना सङ्ख्या कम भए पनि कुल लगानीको आकार बढी हुने उहाँको भनाइ छ।















Discussion about this post