रौतहट/भदौ २५ गते। पर्सामा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित ७० वर्षीय वृद्धलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका–४ भथौरा निवासी दुखि महतो रहेका छन्।
उनको घरबाट प्रहरीले प्लास्टिकसहित १८ किलो ४०० ग्राम र प्लास्टिक हटाउँदा १७ किलो ७०० ग्राम गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार महतोले घरमै गाँजा लुकाएर राखेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले बिहीबार महतोको घरमा खानतलासी गर्दा लुकाइराखेको अवस्थामा गाँजा फेला पारेको हो। बरामद गाँजासहित महतोलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।















Discussion about this post