काठमाडौं । पेटमा असह्य पीडा भएपछि भारतको आन्ध्र प्रदेशस्थित पालनाडुकी एक महिला अस्पताल पुगिन् । सामान्य पेट दुखाइ होला भन्ने अनुमान गरिएको थियो ।
तर, चिकित्सकहरूले इन्डोस्कोपी गरेपछि उनको पेटभित्र देखिएको दृश्यले सबैलाई चकित बनायो ।
जाँचका क्रममा पेटभित्र असामान्य वस्तुहरू देखिएपछि चिकित्सकहरूले सीटी स्क्यान गरे । त्यसपछि ती वस्तु तत्काल निकाल्नुपर्ने निष्कर्षमा पुगे ।
उपचारका क्रममा महिलाको पेटबाट १३ वटा कलम, एउटा मैनबत्ती र पाँचवटा काठका चम्चा निकालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिकित्सकका अनुसार करिब २५ सेन्टिमिटर लामो एउटा कलमले पेटभित्र गम्भीर चोटसमेत पुर्याएको थियो । त्यसका कारण उनलाई ‘न्यूमोमिडियास्टिनम’ नामक जटिलता देखिएको बताइएको छ । इन्डोस्कोपी र ल्याप्रोस्कोपीको सहायताले वस्तुहरू निकालिएपछि उनको अवस्था स्थिर रहेको जनाइएको छ ।
महिलोको यो घटना भने पहिलोपटक नभएको समेत खुलेको छ ।
चिकित्सकसँगको कुराकानीमा ती महिलाले करिब एक वर्षअघि पनि चारवटा कलम निलेको र त्यसबेला शल्यक्रियामार्फत निकालिएको बताएकी छन् । त्यसपछि उनलाई मानसिक स्वास्थ्य विशेषज्ञको उपचारमा समेत पठाइएको थियो ।
बीबीसीका अनुसार पछिल्लो घटनाअघि उनको बुबासँग विवाद भएको थियो । चिकित्सकहरूले यस्तो व्यवहारमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या जोडिएको हुन सक्ने बताएका छन् ।















Discussion about this post