मस्को/भदौ २५ गते। पश्चिमी राष्ट्रहरूको तीव्र प्रतिबन्धका बाबजुद रुसले आर्कटिक क्षेत्रमा स्थित आफ्नो विशाल ‘भोस्टोक आयल’ परियोजनाबाट कच्चा तेल लोड गर्न सुरु गरेको छ।
मस्कोले यसलाई भविष्यमा विश्वकै सबैभन्दा ठूलो नयाँ तेल उत्पादन केन्द्रहरूमध्ये एक बनाउने लक्ष्य राखेको छ।
राष्ट्रपति भ्लादिमिर पुटिनले सेप्टेम्बर ६ मा ताइमीर प्रायद्वीपस्थित नयाँ ‘बुख्ता सेभर’ टर्मिनलमा ‘भ्यालेन्टिन पिकुल’ नामक ‘आइस-क्लास’ ट्यांकरमा पहिलो खेपको कच्चा तेल लोड गर्ने आदेश दिँदै परियोजनाको औपचारिक उद्घाटन गरेका हुन । दोस्रो खेपका लागि करिब १ लाख २० हजार डेडवेट-टन क्षमताको ‘एफ्राम्याक्स’ श्रेणीको ट्यांकर ‘अकाडेमिक गुब्किन’ समुद्रमा तयारी अवस्थामा रहेको थियो।
निर्माण कार्य सुरु भएको करिब पाँच वर्षपछि रोसनेफ्टले यस परियोजनाको पहिलो चरण सञ्चालनमा ल्याएको हो। उद्घाटन कार्यक्रममा राष्ट्रपति पुटिनले यसलाई “विश्वव्यापी महत्त्वको नयाँ तेल तथा ग्यास क्षेत्र” र देशकै सबैभन्दा ठूलो परियोजनाको रूपमा वर्णन गरे। त्यस्तै, रोसनेफ्टका सीईओ इगोर सेचिनले यसलाई “नयाँ रूसी तेल क्षेत्रको जन्म” भनेका छन्।
परियोजनाको आकार र उत्पादन लक्ष्य हाल करिब ४ ट्रिलियन रुबल (४५ अर्ब अमेरिकी डलर) लगानी पुगेको यस परियोजनाले भान्कोर समूहका विद्यमान क्षेत्रहरूलाई उत्तरी क्रास्नोयार्स्कको पायाखा र अन्य नयाँ भण्डारहरूसँग जोड्छ । रोसनेफ्टका अनुसार यस क्षेत्रमा करिब ७ अर्ब टन उच्च गुणस्तरको तेल भण्डारण रहेको छ। सन २०२७ को उत्तरार्धसम्ममा वार्षिक ३ करोड टन र सन् २०३० सम्ममा ५ करोड टनसम्म तेल ढुवानी गर्ने लक्ष्य राखिएको छ। दीर्घकालमा यो उत्पादन वार्षिक १० करोड टनसम्म पुग्न सक्ने अनुमान छ। यसले भोस्टोक आयललाई ‘नर्दन सी रुट’को प्रमुख कार्गो स्रोत बनाउनेछ।
प्रतिबन्ध र चुनौतीहरू जनवरी २०२५ मा अमेरिकी सरकारले यस परियोजना सञ्चालक कम्पनी र पाइपलाइन निर्माणमा संलग्न अन्य १० कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको थियो। मस्कोले दैनिक २० लाख ब्यारेलभन्दा बढी तेल निर्यात गर्ने लक्ष्य राखेको यो परियोजनालाई सुस्त वा बन्द गराउने वासिङ्टनको उद्देश्य थियो।
प्रतिबन्धका बाबजुद रुसको ‘ज्भेज्दा’ शिपयार्डमा निर्माण गरिएका ट्यांकरमार्फत आपूर्ति सुरु गरिए पनि उच्च लक्ष्य हासिल गर्न हिउँमा चल्न सक्ने जहाजहरूको पर्याप्त क्षमता कायम राख्नु रुसका लागि अझै चुनौतीपूर्ण देखिन्छ।















Discussion about this post