काठमाडौं/भदौ २४ गते। भारतका विभिन्न सहरमा जोखिमपूर्ण अवस्थामा पुगेका १५ जना नेपाली बालबालिका तथा किशोरकिशोरीको उद्धार गरी नेपाल ल्याइएको छ। उद्धार गरिएका उनीहरूलाई मङ्गलबार राति नेपालगन्ज नाका हुँदै नेपाल ल्याइएको हो।
भारतस्थित नेपाली राजदूतावासको समन्वय र मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था ‘किन इन्डिया’को पहलमा महाराष्ट्र, दिल्ली र झारखण्डलगायतका स्थानबाट उनीहरूको उद्धार गरिएको हो। किन इन्डियाका निर्देशक नविन जोशीका अनुसार उद्धार गरिएका बालबालिकाहरूमा १५ वर्षमुनिका १२ जना र १५ वर्षभन्दा माथिका ३ जना (५ जना बालिका/किशोरीसहित) रहेका छन्।
उद्धार गरिएकाहरू मधेस प्रदेशका साथै नवलपरासी (सुस्ता पश्चिम), पाल्पा, कञ्चनपुर र कैलालीलगायत जिल्लाका छन्। उनीहरूलाई मदरसामा पढाउने बहानामा, घरेलु हिंसाका कारण भागेको अवस्थामा वा दिल्लीका रेलवे स्टेसनमा अलपत्र परेको स्थितिमा भारतीय प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
नेपाल ल्याइएका बालबालिकालाई रूपन्देही पुर्याएर आज (बुधबार) अभिभावक तथा आफन्तको जिम्मा लगाउने कार्यक्रम रहेको छ। उद्धार टोलीमा किन इन्डियाका प्रतिनिधि र नेपाली राजदूतावासका वरिष्ठ प्रहरी उपरीक्षक प्रकाश मल्लसमेत सहभागी थिए।















Discussion about this post