काठमाडौं, २२ भदौ । हामीले बाल्यकालदेखि देख्दै आएको विश्वको नक्सामा अब परिवर्तन आउन सक्ने भएको छ।
गत सेप्टेम्बर ४ मा संयुक्त राष्ट्रसंघको महासभाले “नक्सा सच्याऔँ” शीर्षकको एक प्रस्ताव बहुमतले पारित गरेको छ। यस प्रस्तावको मुख्य उद्देश्य विश्वका देश तथा महादेशहरूको क्षेत्रफललाई तिनको वास्तविक अनुपात र आकारका आधारमा सही ढंगले चित्रण गर्ने नक्साहरूलाई प्रवर्द्धन गर्नु हो।
उक्त प्रस्तावको पक्षमा १६४ देशहरूले मतदान गरेका थिए भने संयुक्त राज्य अमेरिका प्रस्तावको विपक्षमा उभिने एकमात्र देश बन्यो । जसमा ६ वटा देश मतदानमा तटस्थ रहेका थिए।
संयुक्त राष्ट्रसंघले कुनै पनि देशको भौगोलिक सिमाना वा भू-भागमा परिवर्तन गरेको भने होइन। यो निर्णय गोलाकार पृथ्वीलाई कागज वा स्क्रिनको समतल सतहमा कसरी चित्रण गर्ने भन्ने प्रविधिसँग मात्र सम्बन्धित छ। साथै, यो प्रस्ताव कानुनी रूपमा बाध्यकारी नभएकाले तत्कालै हरेक विद्यालय, वेबसाइट वा मोबाइल एपमा नयाँ नक्सा स्वतः लागू भइहाल्ने छैन।
प्रस्तावको विरोध गर्दै अमेरिकी प्रतिनिधि यारिना फेरेन्सेभिचले १६औँ शताब्दीका नक्सा परिवर्तन गर्ने विषयमा अलमलिनुको सट्टा राष्ट्रसंघले वास्तविक र गम्भीर वैश्विक समस्याहरूमा ध्यान केन्द्रित गर्नुपर्ने तर्क राखिन्। अमेरिकाले यस पहललाई एक वैचारिक एजेन्डाका रूपमा हेरेको छ।
अर्कोतर्फ, अफ्रिकी संघले भने यस निर्णयको स्वागत गरेको छ। उनीहरूका अनुसार यो नक्साको सामान्य हेरफेर मात्र नभई अफ्रिकालाई उसको वास्तविक र विशाल आकारमा विश्वमाझ प्रस्तुत गर्ने महत्त्वपूर्ण कदम हो।
हाल प्रयोगमा रहेको प्रसिद्ध ‘मर्केटर प्रोजेक्सन’ सन् १५६९ मा जर्मन-फ्लेमिश नक्साविद् जेरार्डस मर्केटरले समुद्री यात्राका क्रममा दिशा पहिल्याउन सजिलो होस् भनेर बनाएका थिए। तर, यस नक्सामा भूमध्यरेखाबाट उत्तर वा दक्षिणतर्फ जाँदा भू-भागहरू वास्तविकभन्दा ठूला देखिने विकृति रहेको छ।
अफ्रिका भर्सेस ग्रिनल्यान्ड: मर्केटर नक्सामा ग्रिनल्यान्ड र अफ्रिका लगभग उस्तै आकारका देखिन्छन्। वास्तवमा अफ्रिका (३ करोड वर्ग किमी) र ग्रिनल्यान्ड (२२ लाख वर्ग किमी) भन्दा करिब १४ गुणा ठूलो छ। युरोपसँगको तुलना: मर्केटर नक्सामा युरोप ठूलो देखिए तापनि वास्तवमा अफ्रिका महादेश युरोपभन्दा तीन गुणा ठूलो छ।
राष्ट्रसंघको नयाँ प्रस्तावले सन् २०१८ मा कार्टोग्राफरहरू बोजान साभ्रिच, टम प्याटरसन र बर्नहार्ड जेनीद्वारा विकसित ‘इक्वल अर्थ प्रोजेक्सन’ को प्रवर्द्धनमा जोड दिएको छ। यसले देश तथा महादेशहरूको क्षेत्रफललाई वास्तविक अनुपातमा देखाउँछ। यद्यपि, गोलाकार पृथ्वीलाई समतल सतहमा उतार्दा शतप्रतिशत त्रुटिरहित बनाउन असम्भव हुने भएकाले क्षेत्रफल सही राख्दा आकार वा दिशामा केही सम्झौता भने हुनसक्छ।
यो प्रस्ताव पारित हुँदैमा बजारबाट मर्केटर नक्सा पूर्ण रूपमा लोप हुनेछैन। दिशा र कोण सही देखाउने भएकाले मार्गनिर्देशनमा यसको प्रयोग जारी नै रहनेछ। संयुक्त राष्ट्रसंघ आफैँले पनि प्रयोजन अनुसार रोबिन्सन, विन्केल III र एकर्ट IV जस्ता फरक-फरक नक्सांकन विधिहरू प्रयोग गर्दै आएको जनाएको छ।















Discussion about this post