मुम्बई, २२ भदौ । पंकज त्रिपाठी र अली फजल अभिनित चलचित्र ‘मिर्जापुर: द मुभी’ ले बक्स अफिसमा उत्कृष्ट व्यापार गरेको छ।
हलमा प्रदर्शनमा आउनासाथ दर्शकहरूबाट अत्यधिक प्रशंसा बटुल्दै यस चलचित्रले सामाजिक सञ्जालमा समेत निकै चर्चा पाएको छ। ठूलो पर्दामा पनि ‘कालिन भैया’ र ‘गुड्डु पण्डित’ जस्ता पात्रहरूलाई दर्शकहरूले निकै रुचाएका छन्। फलस्वरूप, प्रदर्शनको पहिलो सप्ताहन्तमा नै यस चलचित्रले अन्य सात चलचित्रको कीर्तिमान तोड्दै ऐतिहासिक कमाइ गरेको छ।
सैकनिल्कका अनुसार, ‘मिर्जापुर: द मुभी’ ले बक्स अफिसमा पहिलो दिन २५.७५ करोड रुपैयाँको कमाइ गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। यसका साथै, चलचित्रले अग्रिम बुकिङमार्फत नै १० करोड रुपैयाँभन्दा बढीको व्यापार गरिसकेको थियो। दोस्रो दिन कमाइमा भारी वृद्धि हुँदै चलचित्रले ५० करोड रुपैयाँको आँकडा पार गर्यो। तेस्रो दिनमा यसले ‘आइतबारको प्रभाव’बाट पनि राम्रो लाभ उठाएको छ।
दोस्रो दिन (शनिबार): ३२ करोड रुपैयाँको व्यापार, तेस्रो दिन (आइतबार बेलुका ८:३० बजेसम्म): २५.२८ करोड रुपैयाँ गरी कुल नेट कलेक्सन (भारत): ८३.०३ करोड रुपैयाँ रहेकाे छ ।
यस कमाइसँगै ‘मिर्जापुर: द मुभी’ ले बक्स अफिसमा ठूलो कीर्तिमान कायम गरेको छ। ‘वेलकम टु द जंगल’ र ‘धमाल ४’ जस्ता चलचित्रहरूको रेकर्ड तोड्दै यो सन् २०२६ को तेस्रो ठूलो ‘विकेन्ड ओपनर’ (सप्ताहन्तमा सर्वाधिक कमाइ गर्ने चलचित्र) बन्न सफल भएको छ।
यो चलचित्र प्राइम भिडियोको चर्चित सिरिज ‘मिर्जापुर’ मा आधारित छ। चलचित्रमा पंकज त्रिपाठी, अली फजल, श्वेता त्रिपाठी, दिव्येन्दु शर्मा, रसिका दुगल र जितेन्द्र जोशी मुख्य भूमिकामा छन्। सिरिजको एक भूमिकामा देखिएका विक्रान्त मेसीको ठाउँमा चलचित्रमा जितेन्द्र आएका छन् भने रवि किशन र सोनल चौहानजस्ता नयाँ कलाकारहरू पनि टोलीमा थपिएका छन्।















Discussion about this post