जनकपुरधाम/भदौ २० गते । आर्थिक रूपमा कमजोर तथा आवश्यकतामा रहेका व्यक्तिलाई लक्षित गर्दै जनकपुरधाममा वर्षभरि निःशुल्क भोजन सेवा सुरु गरिएको छ।
लायन्स क्लब अफ जनकपुरधाम वन्ताराले सामाजिक उत्तरदायित्वअन्तर्गत शनिबारदेखि ‘भोजन सेवा’ अभियान सञ्चालनमा ल्याएको हो। ‘भोकलाई भोजन, सेवामा सम्पूर्ण’ भन्ने नाराका साथ सुरु गरिएको अभियानअन्तर्गत आवश्यकतामा रहेका व्यक्तिलाई ३६५ दिन नै निःशुल्क भोजन उपलब्ध गराउने क्लबले जनाएको छ।
क्लबका चार्टर प्रेसिडेन्ट अनिकेत रुंगटाका अनुसार भारतमा सञ्चालन हुँदै आएको ‘रोटी बैंक’ अभियानबाट प्रेरित भएर जनकपुरधाममा पनि भोकै बस्न बाध्य व्यक्तिलाई लक्षित गरी निःशुल्क भोजन सेवा सुरु गरिएको हो।
भोजन सेवा जनकपुरधामको अस्पताल रोडस्थित रंगभूमि मैदान (बारहबिघा) अगाडि सञ्चालन गरिएको छ। आर्थिक अभावका कारण खाना जुटाउन नसक्ने तथा आवश्यकतामा रहेका व्यक्तिले यहाँबाट निःशुल्क भोजन प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको क्लबले जनाएको छ।
कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२६ आरका द्वितीय उपाध्यक्ष किशोर भक्त श्रेष्ठले जनकपुरधाममा ३६५ दिन निःशुल्क भोजन सेवा सुरु हुनु प्रशंसनीय सामाजिक कार्य भएको बताए। उनले यस्तो मानवीय अभियानले समाजमा सेवा र सहयोगको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गरे।
क्लबले अभियानलाई दीर्घकालसम्म प्रभावकारी र निरन्तर रूपमा सञ्चालन गर्न समाजका विभिन्न क्षेत्रका व्यक्ति, व्यवसायी, संघसंस्था तथा सहयोगी मन भएका नागरिकको साथ र सहयोग आवश्यक रहेको जनाएको छ।
क्लबका अनुसार यो अभियान तत्कालको भोक मेटाउने कार्यक्रम मात्र नभई निरन्तर मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यले अघि बढाइएको हो। आवश्यकतामा रहेका व्यक्तिलाई सम्मानपूर्वक भोजन उपलब्ध गराउँदै अभियानलाई दीर्घकालीन रूपमा निरन्तरता दिने क्लबको योजना छ।















Discussion about this post