गिरिजानन्द/जनकपुरधाम/भदौ १४ गते । जनकपुरधाम उपमहानगरपालिका–१० स्थित श्री चित्रगुप्त सेवा समितिको परिसरमा आयोजना गरिएको बृहत् निःशुल्क स्वास्थ्य शिविरबाट १७० जना सेवाग्राही लाभान्वित भएका छन्। श्री चित्रगुप्त सेवा समितिको आयोजना तथा जानकी मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो।
शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकहरूले सर्वसाधारणको स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक स्वास्थ्य सेवा प्रदान गरेका थिए। मेडिसिन, स्त्री तथा प्रसूति रोग, बालरोग, हाडजोर्नी तथा नसा रोग र रेडियोलोजी लगायतका विशेषज्ञ सेवा शिविरमार्फत उपलब्ध गराइएको शिविरका संयोजक मोहन कर्णले जानकारी दिए।
कर्णका अनुसार शिविरमा स्वास्थ्य परीक्षणसँगै अल्ट्रासाउन्ड सेवा, औषधि वितरण तथा ल्याब परीक्षणमा ७५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको थियो। त्यस्तै, सामाजिक सेवाको भावनासहित रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको उनले बताए।
शिविरमा विभिन्न विभागका विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। जसमा स्त्रीरोगतर्फ आ.प्रा. डा. सन्तोष कुमार झा, डा. दीपक कुमार साह, डा. सोमिका के.सी. र डा. रेशमी थापाले सेवा दिएका थिए।
त्यस्तै, बालरोगतर्फ डा. मनोज कौशल, अर्थोपेडिक विभागतर्फ डा. आशिष झा, डा. सुमित झा र डा. चिरञ्जीवी कुमार यादव तथा मेडिसिन विभागतर्फ डा. विवेक पन्जियार, डा. स्वाती सिंह र डा. सोनाक्षी जैसवालले सेवाग्राहीको स्वास्थ्य परीक्षण तथा परामर्श गरेका थिए। रेडियोलोजी सेवातर्फ डा. वीरेन्द्र कुमार यादवले सेवा प्रदान गरेका थिए।

शिविरबाट विभिन्न स्वास्थ्य समस्या भएका १७० जनाले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा तथा विशेषज्ञ चिकित्सकको परामर्श लिएको आयोजकको तर्फ बाट प्रशान्त अरविन्दले बताए। आर्थिक अवस्था कमजोर भएका तथा नियमित रूपमा विशेषज्ञ स्वास्थ्य सेवा लिन कठिनाइ हुने नागरिकका लागि शिविर उपयोगी बनेको उनको भनाइ छ।
एउटै स्थानमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउनुका साथै औषधि, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणमा समेत सहुलियत पाएपछि सेवाग्राहीहरूले शिविर प्रभावकारी भएको बताएका छन्।
स्थानीय सेवाग्राहीहरूले निःशुल्क रूपमा विशेषज्ञ चिकित्सकको सेवा लिन पाउँदा आर्थिक भार कम हुनुका साथै आफ्नो स्वास्थ्य अवस्थाबारे आवश्यक जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका छन्।
श्री चित्रगुप्त सेवा समितिले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको उक्त शिविरले स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई प्रत्यक्ष लाभ पुर्याएको जनाएको छ।
समितिको पहलमा जानकी मेडिकल कलेजको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण र उपचारका लागि प्रोत्साहन गर्ने वातावरणसमेत सिर्जना गरेको आयोजकको विश्वास छ।
१७० जना सेवाग्राहीलाई विशेषज्ञ स्वास्थ्य सेवा, ल्याबमा ७५ प्रतिशतसम्म छुट, औषधि तथा रक्तदानजस्ता कार्यक्रम एउटै शिविरमार्फत सञ्चालन हुनु कार्यक्रमको मुख्य उपलब्धिका रूपमा देखिएको छ।















Discussion about this post