सञ्जय मिश्रा/रौतहट/भदौ १३ गते। रौतहटको चन्द्रपुर नगरपालिका–२ जुडीबेलामा गाईगोठमा आगलागी हुँदा ७ वटा चौपाया जलेर मरेका छन्। शनिबार बिहान भएको आगलागीमा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
जुडीबेला निवासी सन्तोषी बस्नेतले सञ्चालन गर्दै आएको आचार्य एकीकृत कृषि फार्मको गाईगोठमा बिहान करिब ५ बजे अचानक आगलागी भएको हो।
आगलागीबारे बिहान ६ः१० बजे अस्थायी प्रहरी पोस्ट जुडीबेलामा जानकारी पुगेपछि असई बरुण कुमार रायको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो।
प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा करिब ४० मिनेटपछि बिहान ६ः५० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए।
उनका अनुसार आगलागीमा ४ वटा गाई, २ वटा गाईका बाछा र १ वटा भैँसी जलेर मरेका छन्। त्यस्तै आगोले जलेका २ वटा गाई र १ वटा खसीलाई भने उद्धार गरिएको प्रहरीले जनाएको छ।
आगलागीबाट चौपायासहित फार्ममा करिब ९ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको डीएसपी गौतमले बताए। घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
आगो लाग्नुको कारण अहिलेसम्म खुल्न सकेको छैन। घटनाको प्रारम्भिक अनुसन्धान तथा आवश्यक मुचुल्काका लागि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट इन्स्पेक्टर दिनेश थापाको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। आगलागीको कारण पत्ता लगाउन प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।















Discussion about this post