हरवाचरवा संघर्ष समितिको आयोजनामा “पहिचान हाम्रो आधार, पुनर्स्थापना हाम्रो सरोकार” भन्ने मूल नाराका साथ मुक्त हरवाचरवाको पहिचान र पु पुनर्स्थापनाका लागि बिरोध प्रर्दशन भएको छ । मधेश प्रदेश ८ वटै जिल्लाबाट सहभागि हजारौ मुक्त हरवाले जनकपुरको रेलवे स्टेशनबाट बिरोध प्रर्दशन शुरु गरि मधेश प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय अगाडी कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै हरवाचरवा संघर्ष समितिका संयोजक श्रीप्रसाद सदाले हरवाचरवा मुक्ति घोषणा भएको ४ बर्ष भन्दा समय बितिसक्दा पनि मुक्त हरवाचरवाले भूमि, सुरक्षित आवास, सामाजिक सुरक्षा, सम्मानजनक रोजगारी, जीविकोपार्जन र आर्थिक पुनर्स्थापना जस्ता आधारभूत अधिकारबाट बंञ्चित रहनुपर्ने अवस्था आएको आन्दोलन सञ्चालन गर्न बाध्य भएको बताउनु भयो ।
मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय महासचिव लागिन्द्र सदाले घोषणा मात्रले मुक्ति पूर्ण हुँदैन; पहिचान, अधिकारको सुनिश्चितता र दिगो पुनर्स्थापना नै वास्तविक मुक्तिको आधार भएकोले आफुहरु सडकमा आउन बाध्य भएको बताउनु भयो । साथै उहाँले मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवाको पूर्ण मुक्ति, भूमि अधिकार, सामाजिक सुरक्षा, आर्थिक पुनर्स्थापना तथा मर्यादित जीविकोपार्जन सुनिश्चित गर्ने प्रतिबद्धता गरेता पनि उक्त प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, पर्याप्त बजेट, समयसीमा र प्रभावकारी कार्यान्वयनमा रूपान्तरण गर्न प्रदेश तथा स्थानीय सरकारले अग्रसार हुनुपर्ने कुरामा जोड दिनुभयो ।
हरवाचरवा पुनर्स्थापना आन्दोलनका सदस्य एवं अधिवक्ता वालाराम भट्टराईले विशेषतः मधेश प्रदेशका आठवटै जिल्लामा हरवाचरवाको लगत संकलन तथा प्रमाणीकरण गरी परिचयपत्र वितरण तत्काल सुरु गर्न, भूमिहीन परिवारको पहिचान गरी दिगो पुनर्स्थापनाको स्पष्ट योजना लागू गर्न र आवश्यक बजेट सुनिश्चित गर्न माग रहेको बताउनुभयो । साथै उहाँले मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन मार्फत मुक्त हरवाचरवाको पुनर्स्थापनामा जोड दिनुपर्ने कुरामा जोड दिनु भयो ।
कोणसभालाई मुक्त हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डल, कोषाध्यक्ष राजवती मण्डल, केन्द्रीय सदस्य शिव सदा, गीता सदाय, ठकनीदेवी महरा, जिल्ला हरवाचरवा अधिकार मञ्च पर्साका अध्यक्ष अमरदेव पाशवान लगायतले मन्तब्य गर्दै यदि आफुहरुमा माग सुनुवाई नभए भोली देखि मुख्यमन्त्री कार्यालय अगाडी अनिश्चित कालिन धर्ना बस्ने कुरा बताउनु भयो ।
स्मरण रहोश हरवा–चरवा संघर्ष समितिले आफ्ना दीर्घकालीन मागहरू सम्बोधन गर्न तथा प्रदेश सरकारबाट तत्काल पहलको माग गर्दै करिब दस दिनअघि मधेश प्रदेशका भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्री समक्ष अल्टिमेटमसहितको ज्ञापनपत्र बुझाएको थियो । तर, मागहरू सम्बोधन नभएपछि समितिले जनकपुरधाममा विरोध प्रदर्शन आयोजना गरेको थियो । प्रदर्शनकारीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आसपासको निषेधित क्षेत्रमा र्याली अघि बढाउँदै सरकारको ध्यानाकर्षण गराउन ३० मिनेट सडक अवरोध/हड्ताल गरेका थिए । प्रदर्शनका क्रममा हरवा–चरवा समुदायका अधिकार तथा समस्यासँग सम्बन्धित प्रतिबद्धताहरू कार्यान्वयन गर्न र मागहरू सम्बोधन गर्न सरकारबाट ठोस जवाफ तथा तत्काल पहलको माग गरिएको थियो । र्याली तथा ३० मिनेटको हड्तालपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि कोणसभा आयोजना गरी विरोध कार्यक्रम सम्पन्न गरिएको थियो । समितिले आफ्ना मागहरू सम्बोधन गर्न मधेश प्रदेश सरकारले ठोस र अर्थपूर्ण कदम नचालेसम्म मुख्यमन्त्री कार्यालय अगाडि अनिश्चितकालीन धर्ना जारी राख्ने घोषणा गरेको छ । साथै, समितिले सम्बन्धित निकायलाई तत्काल संवादमा आउन र रचनात्मक तथा प्रभावकारी प्रक्रियामार्फत समस्याको समाधान गर्न आग्रह गरेको छ ।















Discussion about this post