काठमाडौँ/असार ३० गते।आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ठूलो परिमाणमा रहेको सेयरको लक–इन अवधि आजदेखि समाप्त भएको छ। यससँगै कम्पनीका संस्थापक तथा कर्मचारीको नाममा रहेको कुल २ करोड ८६ लाख कित्ता सेयर अब कारोबारका लागि खुला हुने भएको छ।
लक–इन अवधि सकिएको सेयरमध्ये २ करोड ८० लाख कित्ता संस्थापक सेयरधनीको स्वामित्वमा रहेको छ भने ६ लाख कित्ता कम्पनीका कर्मचारीलाई वितरण गरिएको सेयर रहेको कम्पनीले जनाएको छ। धितोपत्र बोर्डमा कम्पनीको कुल ४ करोड कित्ता सेयर दर्ता रहेको छ।
यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय जिम्मेवारीमा रहेका कर्मचारीको नाममा रहेको सेयर भने प्रचलित कानुनी व्यवस्था अनुसार अझै रोक्कामै रहने स्पष्ट पारिएको छ। उनीहरूले पदमा रहँदासम्म सम्बन्धित नियमअनुसार ती सेयर कारोबार गर्न पाउने छैनन्।
लक–इन अवधि समाप्त भएसँगै दोस्रो बजारमा कम्पनीको सेयर आपूर्तिमा वृद्धि हुन सक्ने अनुमान गरिएको छ। संस्थापक समूहले बिक्री गर्ने निर्णय लिएमा कारोबारको परिमाण र सेयर मूल्यमा समेत प्रभाव पर्न सक्ने भएकाले लगानीकर्ताले बजार गतिविधिलाई नजिकबाट नियालिरहेका छन्।















Discussion about this post