धनुषा/असार ६ गते । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जनकपुरधामस्थित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य आगामी आर्थिक वर्षदेखि सुरु गरिने बताएका छन् ।
मधेश खेलकुद परिषद्को आयोजनामा शनिबार जनकपुरधाममा सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले रंगशाला निर्माणलाई प्रदेश सरकारको प्राथमिकतामा राखिएको बताए ।
उनले रंगशाला निर्माणका लागि आगामी आर्थिक वर्षमा २ अर्ब ५६ करोड रुपैयाँ लागत अनुमान गरिएको जानकारी दिँदै निर्माण प्रक्रिया अघि बढाइने बताए । खेलकुद पूर्वाधारको विकास प्रदेश सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उनको भनाइ थियो ।
मुख्यमन्त्री यादवले क्रिकेटसहित अन्य खेलको प्रवद्र्धन र विकासका लागि आवश्यक बजेट विनियोजन गरिने उल्लेख गर्दै प्रदेशका आठवटै जिल्लामा रहेका खेलमैदानको स्तरोन्नति तथा पूर्वाधार निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए ।
कार्यक्रममा मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजी यादवले खेलकुदलाई युवासँग जोड्दै व्यावसायिक बनाउन परिषद्ले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । उनले खेलकुद क्षेत्रको विकासले प्रदेशको समग्र विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्दै मधेशलाई खेलकुदमय प्रदेश बनाउने अभियानलाई तीव्रता दिइने बताए ।
शनिबारदेखि सुरु भएको नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा मधेश, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका टोलीसँगै नेपाल एपीएफ क्लब गरी आठ टोलीको सहभागिता रहेको छ । आयोजकका अनुसार प्रतियोगिताका खेलहरू जनकपुरधाम र वीरगञ्जमा सञ्चालन हुनेछन् भने फाइनल खेल वीरगञ्जमा आयोजना गरिनेछ ।





















Discussion about this post